प्रमिता ढकाल
भरतपुर,१६ मंसिर ।
पटक–पटकको आग्रहलाई दलहरुले बेवास्ता गरेपछि चितवनमा निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग कडाइका साथ प्रस्तुत भएको छ । निर्वाचनको मिति आउन मात्र ६ दिन बाँकी रहँदा प्रचारप्रसारको नाममा हुन सक्ने अनियमित क्रियाकलाप रोक्न निर्वाचन आयोग कडाइका साथ प्रस्तुत भएको हो ।
प्रचारप्रसारको लागि आचारसंहिताविपरीत तुल टाँग्ने, सवारीसाधनको प्रयोग गर्ने र सार्वजनिक स्थलमा पोस्टर, पर्चा र निर्वाचन संकेत टाँसेको व्यापकरुपमा भेटिएपछि ‘एक्सन’ लिन बाध्य भएको निर्वाचन अनुगमन प्रमुख सहन्यायाधिवक्ता उद्धव पुडासैनीले बताए । शुक्रबार चितवनको तीनवटै निर्वाचन क्षेत्रको अनुगमन गरेको टोलीले आचारसंहितालाई कडाइका साथ पालना गराउन खबरदारी स्वरुप ब्यानर, तुल तथा पोस्टर हटाएको छ । “पटक–पटक आग्रह गर्दा पनि दलहरुले बेवास्ता गरे”, पुडासैनीले भने, “त्यसैले फिल्डमा उत्रिएका हौं ।”
क्षेत्र नम्बर १ को खैरहनीका विभिन्न वडा, क्षेत्र नम्बर २ को कालिका नगरपाकिलाका विभिन्न वडा र क्षेत्र नम्बर ३ को गीतानगरमा आचारसंहिताविपरीत प्रयोग गरिएका प्रचार सामग्री हटाउन आग्रह गरिएको निर्वाचन अनुगमन प्रमुख सहन्यायाधिवक्ता पुडासैनीले बताए । यसअघि नै अनुगमनका क्रममा सबै प्रचार सामग्री सार्वजनिक स्थलबाट हटाउन आग्रह गर्दासमेत अटेर गरेपछि शुक्रबार प्रहरी बल प्रयोग गरी ती सामग्री हटाइएको उनले बताए ।
निर्वाचन आचारसंहिताविपरीतका कुनैपनि काम भएको भेटिए तत्काल उजुरी गर्न अर्का अनुगमन टोली प्रमुख सहसचिव रामकृष्ण सुवेदीले सर्वसाधारणलाई आग्रह गरे । निर्वाचनलाई कसैको प्रभाव, डर त्रास वा भम्कीमा नपरी शान्तिपूर्ण ढंगबाट सम्पन्न गराउन अनुगमन टोलीले उच्च निगरानी राखेको सुवेदीले बताए । स्थलगत अनुगमनका क्रममा सावारी पास नलिएका अटो तथा ई–रिक्सालाई समेत प्रचारप्रसारका लागि प्रयोग गरेको भेटिएपछि उनीहरुलाई खबरदारी गरिएको छ । “अनुमतिविना कुनैपनि सवारीसाधनलाई निर्वाचन प्रचारमा लगाउन पाइदैन”, उनले भने, “तिनीहरुलाई सचेत गरिएको छ ।”
कालिका नगरपालिका–२, लामाटोलमा प्रतिस्पर्धात्मक ढंगमा राखिएका सबैखाले प्रचार सामग्री, तुल तथा ब्यानर हटाइएको छ । यस्तै गीतानगर बजारमा पनि सार्वजनिक स्थान प्रयोग गरी टाँगिएका तुल तथा ब्यानर हटाइएको छ । गीतानगरमा रहेको अरुणोदय मावि मतदान केन्द्रमा समेत निर्वाचन आचारसंहिताविपरीत पोस्टर तथा चुनाव चिह्न टाँसेको भेटेपछि टोलीले च्यातिदिएको छ ।
निर्वाचन आचारसंहिताविपरीत प्रचाप्रसार गर्ने, सवारीको दुरुपयोग गर्नेमा ठूला दलहरु मुख्य देखिएपनि सार्वजनिक भवन, बिजुलीका पोल, चौतारो, बाटोका वरपरका रुखमा पोस्टर टाँस्नेहरुमा साना दलसमेत छन् । अनुगमन टोलीले मतदाता शिक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भए÷नभएको बारेमा समेत सर्वसाधारणसँग बुझेको छ । सो क्रममा सर्वसाधारणले मतदाता शिक्षकहरु घरदैलोमा नपुगेको गुनासो गरेका छन् ।