‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरु पनि हजारौं वर्ष पुराना हुन् । तिनै दबाइएका उद्वेलनहरुले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरु प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरुको एकमुष्ट स्वरुप नै हो, ‘बागी स्त्रीको आत्मकथा’ ।
हो, ‘बागी स्त्रीको आत्मकथा’ मा सुमिनाका उल्लेखित यत्ति शब्दहरु पढिसकेपछि कवि सुमिनालाई विना आग्रह÷पुर्वाग्रह निर्धक्क कवितामा पढ्न सकिन्छ । यहींनिर उनको विचारसँग एकमत भइसकेपछि एउटा पाठकले उनका कविताहरुसँग संलाप गर्न सक्छ । र, उनका कविताहरु पाठकलाई न्यायप्रिय लाग्न सक्छ । कविता पढ्नु नदीमा पौडिनु जत्तिकै साँच्चिकै गाह्रो काम हो । एउटा कुशल पौडीबाजलाई नदीको पानीको धार र गहिराइमा हेलिनु र डुब्नुको जति रोमाञ्च र आनन्द लाग्छ, एउटा पाठकको लागि एउटा सुन्दर कविताले दिने आस्वाद उत्तिकै आह्लादक लाग्छ । त्यसैले कविता लेख्नु वा पढ्नु एउटा एडभेन्चर पनि हो । कमै लेखक वा पाठकले यो साहसिक कार्यलाई आत्मसात गर्न सक्छ ।
कविता लेख्नु भनेको द्रोही हुनु हो – विसङ्गतिहरुसँग । सत्ता विसङ्गतिहरुको डङ्गुर हो । र, कविता सत्तासँगको द्रोह पनि हो । सधैं राज्यसत्ताको उत्पीडनले दलनमा बाँचिरहेकाहरुको एकमत स्वरहरु हुन् सुमिनाका कविताहरु । त्यसैले सुमिनाका कविताहरु पढ्नु भनेको विसङ्गतिहरुप्रतिको विद्रोह र सत्तासँगको द्रोह पनि हो ।
कवि सुमिनाका कविताहरु सत्तासँग असहमत छन् र सत्ताले सधैं वर्जित गरेको भूगोलमा रहेका सीमान्तकृतहरुमाथिको उत्पीडन सुमिनालाई अस्वीकार्य छ ।
‘म कविता तिनीहरुमा अर्पण गर्न चाहन्छु, जसका स्वरहरुलाई यो समाजले सदियौंदेखि निमोठ्न र दबाउन खोजिरहेको छ । जसका खुट्टाहरुमा बलजफ्ती जन्जिरहरु बाँधिएका छन् । जसका निम्ति स्वतन्त्र उडान वर्जित छ । हो यो त्यही उडानको आह्वान हो । वर्जित भूगोल तोडेर उड्ने आह्वान । जन्जिर चुँडाल्ने आह्वान । ताल्चा तोडेर दबिएका आवाजहरु उराल्ने आह्वान ।’
र, उनको आत्मस्वीकृति छ;
म यतिबेला
अस्तित्वको आकाशमा मडारिएको
आँधीको सामना गर्न
स्वयम् आँधी बनेर
युगको आँगनमा उभिइरहेकी छु ।
(आँधी बन्न अभ्यस्त मान्छे, पृ. २९)
सुमिना ८० को दशकको पूर्वाद्र्धमा देखा परेका नेपाली कविहरूको पछिल्लो पुस्तामध्येको एक प्रखर कवि हुन् । भर्खरै उनको ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकको कविता सङ्ग्रह बजारमा आएको छ र यस कविता सङ्ग्रहले उनलाई वर्तमान पुस्ताको एकजना सशक्त कविका रूपमा स्थापित गरेको छ । आफ्ना फुटकर कविताहरूले पाठकका माझ परिचय बनाइसकेका कवि सुमिनाका धेरै कविताहरूले चर्चा पनि पाइसकेका छन् । वैचारिकी र विद्रोह उनका कविताहरूको सघन र केन्द्रीय विषय हुन् । पाठकका रूचि र छनौटमा परेका कतिपय प्रकाशित र नयाँ कविताहरूलाई सङ्गृहीत गरेर आफ्नो पहिलो कविता कृति ‘बागी स्त्रीको आत्मकथा’लाई उनले प्रकाशनमा ल्याएकी हुन् ।
२०५० सालको असोजमा ‘बैंसालु वर्तमान’ कवितासङ्ग्रह प्रकाशनमा आएपछि यस कृतिले पारिजातको वैचारिक कविताहरुको एउटा मानक स्थापित ग¥यो । नेपाल साहित्य गुठीले प्रदान गर्ने २०४९ सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त गरेको यो कृतिले पुस्तकाकार रुपमा प्रकाशित हुन नपाउँदै २०५० सालको वैशाख ५ गतेको एकाबिहानै पुरस्कारको घोषणा र पारिजातको मृत्युको समाचार सँगसँगै फैलियो – हावासँगै । २०५० सालको वैशाख ४ गते नेपाल साहित्य गुठीले पारिजातको ‘बैंसालु वर्तमान’ लाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार दिने निर्णय ग¥यो । तर वीर अस्पतालको सघन उपचार कक्षको वेडमा रहेकी पारिजातले यो निर्णय सुन्न नपाउँदै वैशाख ५ गते बिहानै उनको निधन भएको समाचार बाहिर आयो । पारिजातलाई विसङ्गतिवादी कविताहरुबाट अलग्याएर ‘बैंसालु वर्तमान’ ले प्रतिबद्ध, वैचारिक र माक्र्सवादी कविका रुपमा चर्चामा ल्यायो ।
मैले सुमिना र सुमिनाका कवितासँगै पारिजातका यी प्रसङ्गहरुलाई यहाँ किन जोडिरहेको छु भने पारिजातपछि वैचारिक कविताहरुको लेखनको शून्यता लामो समयसम्म रहँदै आइरह्यो । अझ महिला लेखकहरुमा यस्तो लेखनको अभाव खट्किरह्यो । लेखिएपनि ती हस्तक्षेपकारी भुमिकामा हुन सकेनन् । पारिजातकै शैलीमा कवि सुमिनाको उपस्थिति र उनको लेखनले यतिबेला मलाई पारिजातको सम्झना गराइरहेको छ । यो मेरो वैयक्तिक बुझाइ हो । मेरा यी बुझाइहरुमाथि कसैले पनि असहमति राख्न सक्छन् ।
व्यक्तिगत रुपमा म सुमिनालाई चिन्दिनँ । र, उनको व्यवहार र स्वभावसँग म उति परिचित छैन जति मैले पारिजातलाई नजिकबाट चिनेको छु । केही समय उहाँसँग नजिक रहेर मैले साहित्यको विद्यार्थीको रुपमा प्रशिक्षित हुने अवसर पाएको छु । म्हैपीस्थित उहाँको निवासमा पुगेर उहाँको अध्ययन र सङ्घर्षशील जीवनशैलीबाट प्रभावित भएको छु । ‘बागी स्त्रीको आत्मकथा’ पढिरहँदा मलाई घरीघरी यस्तो लाग्छ सुमिना नै कतै पारिजातको त्यो ‘बोनी’ हुन कि ! जो यो समयले हुर्काएको आन्दोलनको एउटा जीवन्त पात्र हुन् । मैले सुमिना र सुमिनाका कविताहरुमा पारिजातका प्रतिच्छायाहरु देखेको छु । ‘बैंसालु वर्तमान’ र ‘बागी स्त्रीको आत्मकथा’ लाई साथमा राखेर अहिले म यी दुई अलग समयलाई प्रतिनिधित्व गरिरहेका यी दुई कविहरुको वैचारिकी, विद्रोह र सङ्घर्षशील स्वभावहरुलाई पढिरहेको छु, एउटा समानता खोजिरहेको छु । म सुमिनाका यी कविताहरुले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरुलाई चियाइरहेको छु । र, एउटा दृढताले सीमान्तकृत भूगोललाई नियालिरहेका सुमिनाका स्वप्नील आँखाहरुलाई हेरिरहेको छु ।
यतिबेला उनका आँखाहरु आन्दोलित छन्ः
जहाँ सामन्तहरु
बडो दम्भले महँगो जुत्ता बजार्छन्
हामी त्यहीँ खाली पैताला
आफ्ना हत्केला गाड्दै नङ्ग्रा खियाउँछौं
आफ्नो शरीरबाट पसिनाको धारा बगाएर
उब्जनीको मूल फुटाउँछौं ।
(वर्गीय प्रेम, पृ. ४२)
कहिलेकाहीँ कविता पढिरहँदा मलाई कविताले हिप्नोटाइज गरोस् भन्ने लाग्छ । मन एकतास होस् र मन कविताका हरफहरुमा हेलिइरहोस भन्ने लाग्छ । यस्ता कविताले पाठकलाई एक प्रकारको मेडिटेटिभ अवस्थामा पनि पु¥याउँछ । कविता सिर्जना आफैमा एक ऊर्जा हो । कविको सौन्दर्य पनि हो । एउटा सुन्दर कविताले पाठकलाई पनि अध्ययनशील बनाउँछ । एउटा ऊर्जा दिन्छ । र, कविता पढिसकेपछि पाठकले एउटा बिम्ब निर्माण गर्छ समाजको सौन्दर्य र कविको व्यक्तित्वको । त्यसैले कविता सुन्दर समाज निर्माणको एउटा आधार पनि हो ।
सुमिनाका फुटकर कविताहरु पढिरहँदा र ती कविताहरुले छोइरहँदा एकदिन फेसबुकको म्यासेन्जर बक्समा मैले उनलाई आग्रह गरेर लेखेको थिएँ – ‘सुमिनाजी, कविताको एउटा सङ्ग्रह निकाल्नुस न अब ।’
‘सङ्ग्रहको काम भइरहेको छ । मेरो तर्फबाट सेलेक्सन भइसकेको छ । केही काम बाँकी छ । अब छिट्टै बजारमा आउने छ ।’ सुमिनाजीको जवाफ थियो ।
मजस्तै उनका कविताका पाठकहरुको शुभेच्छा हो ‘बागी स्त्रीको आत्मकथा’ । इन्डिगो इन्कले यसलाई प्रकाशनमा ल्याएको छ । र, कविताका पाठकहरुका लागि यो पठनीय र सङ्ग्रहणीय कृति बनेको छ । यो कृति नेपाली कविताको फाँटको एउटा उपलब्धि हो ।
कवि सुुमिनाका कविताहरु सीमान्तकृतहरुको प्रतिरोधी चेतनाका स्वरहरु हुन् ।
मेरै श्रमको आँगनमा उभिएर
आफ्ना आदेशका औंला ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्नै पसिनाका धाराबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास ।
(म एक श्रमिक, पृ. ४८)
सुमिनाका कविताहरु पढिरहँदा मलाई कहिलेकाहीँ लाग्छ ती कविताहरु आन्दोलनमा उठिरहेका छरपस्ट नाराहरुको एउटा सङ्गठित आवाज हो जो एकातिर पुरुष सत्तासँग भद्र अवज्ञा गर्छ र अर्कोतिर राज्यसत्ताले निर्माण गरेको शासकीय स्वरुप र त्यसका संरचनाहरुले पुनर्गठन गरेको महिलाको सामाजिक न्यायमाथिको विभेद, असमानता र उत्पीडनप्रति कडा आलोचना गर्छ ।
र, यसका विरुद्ध उनी सडकमा कविताको फिलिङ्गो बोकेर हिँड्छन्;
ममाथि बडो अट्टहास गर्छन्
निरङ्कुश व्यवस्थाका झुण्ड झुण्ड अनुयायीहरु
म त्यो हाँसोमा उनीहरुकै व्यवस्थाको
बर्बादी कुर्लिरहेको देख्छु
उनीहरु मलाई मूर्ख सम्झन्छन्
र फुकेर निभाउन खोज्छन् ।
म निडर
आँखा जुधाउँछु र हाँस्छु बेस्सरी
फिलिङ्गो फुक्दैमा निभ्दैन
झन् सल्कन्छ– रातो भएर ।
(फिलिङ्गो, पृ. ५१)
एउटा काल÷बेला थियो– बजारको फिलिम हलमा फिलिम फेरिएपछि हलमा पुगेर नयाँ फिलिम हेर्न मन आतुर हुन्थ्यो । अहिले उमेर र रहर फेरिएको छ । बजारमा नयाँ किताब आएपछि मन किताब पसल पुग्न हतारिन्छ । लेखक नयाँ, पुराना भन्दिनँ । किताब टपक्क टिप्छु । घरमा पुगेर पढ्न बस्छु । राम्रा किताबहरुले मन तृप्त बनाउँछ । नराम्रा किताब छन् भने पनि खासै गुनासाहरु गर्दिनँ । एउटा पुस्तकालय छ, जतनले राख्छु । रुचि आख्यान र गैरआख्यान दुवैमा छ । खासगरी कविताका किताबहरुले तानिन्छु । दोबिल्ला पुस्तक पसलबाट भर्खरै बजारमा आएका समकालीन कविताको क्षेत्रमा महत्व राख्ने केही किताबहरु ल्याएको छु । सुमिना मलाई मन पर्ने कवि हुन् । नयाँ पुस्ताहरु बीच उनको लेखनको क्रियाशीलता लोभलाग्दो छ । ‘बागी स्त्रीको आत्मकथा’ मार्फत नेपाली कवितामा उनको एउटा हस्तक्षेपकारी उपस्थिति रहेको छ ।
सत्तामा बसेर आज शासकहरुले गर्ने स्तुत्य कवि सुमिनालाई पटक्कै स्वीकार्य छैन ।
ऊ भनिरहन्छ – क्रान्ति
जपिरहन्छ – क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै ध्यानस्थ भएर
उसलाई कण्ठ छन्
माओत्सेतुङ्का दर्जनौं उद्धरणहरु
कुनै धर्मान्धले
धर्मग्रन्थका श्लोकहरु जपेजस्तै
बेला बेला क्रान्तिको इतिहास पढ्छ र उभिन्छ
चाउ एनलाई, चियाङ चिङ
र याङ होङ्वेनहरुको लस्करसँगै
(क्रान्तिको जप, पृ. ७१)
कवि सुमिनाको आक्रोश छ, आफूलाई क्रान्तिकारी हुँ भनेर क्रान्तिकै विसर्जन गर्नेहरुसँग । सिंहदरबारभित्र पसेका लाल कमरेडहरुको दलाल चरित्रहरुले रुग्ण बनेको देश र उनीहरुको सत्ता लिप्साले थिचिएका झुप्राहरुको आवाज आज माइतिघर मण्डलामा हराएको छ ।
ऊ बेखबर छ
आफ्नै अघिल्तिरको समयको रफ्तारसँग
उसलाई थाहा छैन
कहाँ, कतिबेला र कसरी छुट्यो उसको लक्ष्यबाट
वर्गसङ्घर्ष, मजदुर एकता र समाजवादको यात्रा ?
(क्रान्तिको जप, पृ. ७१)
साहित्य वस्तुवादी हुनुपर्छ, जीवनवादी हुनुपर्छ । विचारलाई नारामात्र देख्नेहरुका लागि सुमिनाका कविताहरुले बिझाउन सक्छन् । शृङ्गारवादीहरु सधैं ‘कला कलाका लागि कि कला जीवनका लागि’ भन्ने भ्रमको बहस सिर्जना गरिरहन्छन् । उनीहरु कहिल्यै श्रमको सौन्दर्यसँग जोडिन सक्दैनन् । श्रमसँग नजोडिएको साहित्य जीवनहीन साहित्य हो । कलावादीहरुको साहित्य उपभोक्तावादी बजारले आफ्नो दोकानअघि विभिन्न वस्त्र र आभुषणले सजाएर राखेका ‘डमी’ जस्ता हुन् जसको कुनै प्राण हुँदैन, जीवन हुँदैन । श्रमसँग नजोडिएको साहित्य रुपविहीन र शृङ्गारविहीन नै हुन्छ । जब सिर्जनाको व्यापार सुरु हुन्छ त्यो वस्तुमा रुपान्तरण हुन्छ र केही समयपछि त्यसको उपयोगिता सकिन्छ । अहिले उपभोक्तावादले साहित्यलाई पनि वस्तुको रुपमा व्यापार गरिरहेको छ । त्यसले लेखकलाई मारिदिन्छ र प्रायोजक बनाउँछ ।
कवि सुमिना श्रम र श्रमजीवीहरुका कवि हुन् । उपेक्षित र उत्पीडितहरुका कवि हुन् । त्यसैले उनका कविताहरुमा श्रमजीवी वर्गको भावना, संवेदना, करुणा, प्रेम, स्नेह र एकत्वको मेल पाइन्छ । उनी आफू उभिएको भूगोल, आफ्नो जाति र आफ्नो वर्गसँग इमान्दार छन् र उनी लेख्छन्, ‘धेरैले भनेको सुनिन्छ– कविता हृदयले ग्रहण गर्ने कुरा हो ! तर मलाई लाग्छ कविता मस्तिष्कले पनि ग्रहण गर्ने कुरा हो । धेरैले भनेको सुनिन्छ– कविताको काम एक अलौकिक आनन्द प्रदान गर्नु हो ! तर मलाई लाग्छ कहिलेकाहीँ त्यो मुर्दा शान्तिलाई बिथोलेर हृदयमा उद्वेलनको ज्वारभाटा उठाउनु र मस्तिष्कलाई एक चरण बिथोल्नु पनि कविताको काम हो ! यस अर्थमा कविता सधैँ विनम्र, शालीन मात्रै हुँदैन । उद्दण्ड, अराजक र विध्वंशक पनि हुन्छ !’
र, त्यसैले सायद सुमिनाका कविताहरुले पाठकको मस्तिष्कलाई बिथोलिरहन्छः
त्यागिदेऊ शृङ्गार
र, उन्मुक्त गर
आफूसँगै आफ्नै शरीरका
एक एक बन्धक अङ्गहरुलाई
(शृङ्गार, पृ. ९७)
एउटा लेखकलाई आफ्नो लेखनप्रति इमान्दार हुन जति गाह्रो छ, त्योभन्दा दुगुना गाह्रो यहाँ एउटा असल र इमान्दार पाठक हुनुमा छ । कहिलेकाहीँ लेखकले आफ्नो कुरा भनिसक्छ र उसले पाठकलाई दुविधामा छोडिदिन्छ । पाठक मझधारमा उभिन्छ । यस्तो अवस्थामा लेखक र पाठक दुवै दुर्घटनामा पर्छन् । लेखक र पाठकको सम्बन्ध टुट्छ । र, यसले पठन संस्कृतिलाई कमजोर बनाउँछ ।
सुमिना भन्छिन्– ‘यो लेखकको आत्मरतिमा रमाउने एउटा मनोवृत्ति हो ।’
लेखकले आफ्नो लेखकीय यात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नुपर्छ । लेखक र पाठकका बीच संवाद हुनुपर्छ । संवादले पठनयात्रालाई सहज बनाउँछ । नत्र पाठक थाक्छ र लेखकलाई छोडिदिन्छ । कहिलेकाहीँ त यसले लेखक र पाठकका बीच द्वन्द्व सिर्जना गरिदिन्छ । कवि सुमिना आफ्ना पाठकहरुप्रति सचेत छन् र इमान्दार छन् । उनका कविताहरु पाठकसँग संवाद गर्न सिपालु छन् । त्यसैले उनका कविताहरु पाठकहरुका लागि कत्ति पनि बोझिला लाग्दैनन् ।
उनका कविताहरुले पाठकलाई आसक्त बनाउँछन् ।
जब नियाल्छन् यी आँखा
आकाशको छातीभरि यात्रारत हजार पक्षीहरुलाई
उच्छवासित हुन्छु
आहा !
कति उदार छ त्यो आकाश
जसले विनाअवरोध सारा पक्षीहरुलाई
आफ्नो छातीमा
उडानको अनुमति दिन्छ निःशर्त ।
(निरङ्कुशता, पृ. १०३)
कहिँ कतै भावुक र प्रेमासक्त बनाउँछन् सुमिनाका कविताहरुले । एकछिन टक्क अडिएर चिसो सुस्केरा लिन बाध्य पार्छन् उनले पाठकलाई । ‘वियोग’, ‘निरङ्कुशता’, ‘छोडिनेहरु’, ‘दोहोरिएको प्रेम’, ‘हराएको सहयात्री’, ‘बगर’, ‘नदी’, ‘संयोग’, ‘निष्कर्ष’, ‘प्रेम’, ‘तिमी र जून’ र ‘सम्बन्ध’ आदि कविताहरु पढिसकेपछि पाठक झट्ट एकछिन शून्यतामा हराउँछन् । यी सुमिनाका प्रेमिल कविताहरु हुन् । र, यी कविताहरुले पाठकलाई नोस्टाल्जिक बनाउँछ र प्रेमको एउटा स्वैरकल्पनामा पु¥याउँछन् ।
कुनै बिछोड यस्तो पनि हुन्छ
मानौं, शरीरबाट कसैले मुटुलाई विच्छेद गरिरहेको छ
कोही यसरी पनि अलगिन्छ
मानौं, बिस्तारै बिस्तारै शरीरबाट प्राण अलग्गिरहेको छ
कोही यसरी पनि हराउँछ
जस्तो कि, बिस्तारै बिस्तारै हराइरहेको होस्
सधैंका लागि आँखाबाट दृष्टि
र, मडारिँदै गरेको होस् चौतर्फी अन्धकार
(छाडिनेहरु, पृ. १०६)
के सुमिनाका असफल प्रेमले उनलाई अति भावुकता र कोमलताका यी कविताहरु लेख्न यसरी उद्वेलित गरिदियो ! मेरो मनले गमेको कुरा । लाग्छ यही कोमलता कवि सुमिनाको सिर्जना शक्ति पनि हो । र, यही शक्तिले उनी आफ्ना पाठकहरुलाई एउटा स्वैरकल्पनाबाट जीवनको सौन्दर्यतिर अघि बढाउँछन् । उनलाई थाहा छ त्यो सौन्दर्य सङ्घर्षबाट मात्र प्राप्त हुन्छ । श्रमले नै सौन्दर्यको निर्माण गर्छ ।
जन्मनु
ज्वलन्त सङ्घर्षको ज्वालामा फालिनु रहेछ
कोही दाउराजस्तै दन्किन्छन्
र, रुपान्तरण हुन्छन् कोइला वा खरानीमा
तर
म त फलाम भएको छु साथी फलाम
अग्निको ज्वालासँगै
खारिएर इस्पात बन्दै छु
र, लड्दै छु निरन्तर
चुनौतीका फलामे काँडाहरुसित ।
(सङ्घर्ष, पृ. १५४)
कवि सुमिनालाई साधुवाद !