मकवानपुर, १० चैत ।
मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले एउटै मञ्चमा ७ जनालाई सम्मान गरेको छ ।
२०८० को लागि सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारद्वारा शनिबार उनीहरु सम्मानित भएका हुन् । सङ्गमको ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार निर्मोही ब्यासलगायतले ७ जना सर्जकलाई सम्मानित गरेका हुन् ।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित भएका छन् । मकवानपुरे साहित्यकार शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा समेत सक्रिय छन् ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित भएकी छिन् । उक्त सम्मान मकवानपुरे साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित भए । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडा २ का प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् ।
‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार विश्वनाथ सञ्जेल सम्मानित भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौंडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । यसैगरी हेटौंडाका शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् ।
यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरे स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित भए । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन् ।
सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा निर्मोही ब्यासको प्रमुखु आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित सातै जनाले आआफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्गम सचिव मनोज पोख्रेलले गरेका थिए ।