गैंडाकोट, ९ चैत ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् कवि धर्मेन्द्र झाको कवितासङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ लोकार्पण गरिएको छ । गैँडाकोटमा शुक्रबार साँझ पत्रकार र मानव अधिकारकर्मीको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घकी केन्द्रीय सचिव सृजना अर्याल, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य शान्ता अधिकारीलगायतले लोकार्पण गरेका हुन् । मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको उक्त मैथिली कवितासङ्ग्रहमा एउटै शीर्षकमा विभिन्न ५१ वटा कविता लेखिएको कार्यकारी अध्यक्ष झाले बताए ।
विसं २०४७ देखि विसं २०६७ सम्मको दुई दशक अवधिमा लेखिएका कविताहरुको सङ्ग्रह शहरक भीडमे एसगर हम भएको भन्दै कवि झाले आम मानिसका समस्यालगायत विविध विषयवस्तुलाई कवितामा उठान गरिएको बताए ।
पुस्तक प्रकाशन भएको करिब ६ महिनापछि देशभरका पत्रकार र मानव अधिकारकर्मीको बीचमा पुस्तक लोकार्पणको विषय महत्वपूर्ण भएको उनको भनाइ छ । “दुई दशक समयको कविताहरु एउटै शीर्षकमा लेखिएको यो पुस्तक मैथिली साहित्यमामात्रै नभएर सम्भवतः नेपाली साहित्यमा नै पहिलो हुनसक्छ” उनले भने, “देशको केन्द्रमा पर्ने नवलपुरले नेपालको सबै भागलाई जोड्ने भएका कारण यस ठाउँलाई पुस्तक लोकार्पणका लागि छनौट गरेको हो ।”
कवितासङ्ग्रहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य डा योगेन्द्रप्रसाद यादव, कवि तथा सञ्चारकर्मी डा नवराज ढकाल, मैथिली कवियत्री विभा झाले कवि र कवितासङ्ग्रहका बारेमा टिप्पणी राखेका थिए ।