भरतपुर, ९ चैत ।
आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले नारायणी नदी–किनारमा सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले यो महोत्सवले आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए । शेरचनले जनजातिलाई आफ्ना अधिकारको लागि सधैँ लड्न आग्रह गर्दै पहिचानको आवाज बोकेर गाउँगाउँमा पुग्न आह्वान गरे ।
त्यसैगरी भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनमा जनजातिका घरसहितको गाउँ बनाउनुपर्ने बताइन् । `महानगरभित्र कुनै एक ठाउँमा आदिवासी जनजातिको साँस्कृतिक गाउँ बनाएर त्यसलाई त्यसलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ । नयाँ पुस्तालाई सिक्ने र बुझ्ने थलो पनि बन्छ । यो महोत्सवले भ्रमण वर्षलाई ठूलो टेवा पुगेको छ ।´ प्रमुख दाहालले भनिन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ ले भाषा, कला, संस्कृतिको संरक्षण र प्रबर्द्धनमा टेवा पुर्याउने नेफिनका जिल्ला अध्यक्ष महेन्द्र दुराले बताए ।
नदी–किनारमा बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए ।
तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूका अनुसार गुरुङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन् । सबै घर खर र बाँसको प्रयोगबाट कलात्मक शैलीमा बनाइएका छन् । महोत्सवको संरक्षकमा भरतपुर महानगरपालिका रहेको छ भने महोत्सव चैत १८ गतेसम्म चल्नेछ ।