भरतपुर, ९ चैत ।
साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दै अभियानको शुरु गरिएको हो ।
हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ ।
नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्यालीलाई भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन् । उनले खेलमार्फत नयँ पुस्तालाई साईकलको महत्व बुझाउनु आजको आवश्यकता भएको बताइन् ।
साइक्लिङलाई पर्यटनसँग जोड्दै साईकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा स्मृति प्रतिष्ठानसँगको सहकार्य महानगरका लागि उपयोगी सावित भएको बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ पर्यटन प्रबर्द्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि उनले आव्हान समेत गरिन् ।
`साईकल चलाऔँ, वातावरण जोगाऔँ, स्वस्थ रहौँ´ भन्ने नारासहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई आँपटारी चोक विशालचोक, केन्द्रीय बस टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोकहुँदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।
साईकल र्यालीमा २ सय भन्दा बढी साईकल राईडरहरु सहभागी भएका थिए । भोलि चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए ।
नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।