चाडबाडको रौनक झैँ आउँछ चुनाव ।
मतपत्र, मतपेटिका, घोषणापत्र, झन्डा
नेता, कर्मचारी र जनता
ब्यानर र पर्चा
सबै-सबैलाई चुनावको चाडको हुटहुटीले समातेको छ ।
बाकी यही हावा छ, जुन अदृश्य छ
हावा कुराको मोल चाहिँ अलि बढ्ता छ है ।
चुनावका बेला मात्रै जन्मिएका घोषणापत्रमा यजुर्वेद, ऋगवेद, अथर्ववेद र सामवेदका रोग र तिनका उपचारका
सप्पै हरफका छन्दमा
पूरा मुलुकको कायापलटको फर्मुला लाइनैसरी झुलेकाछन्,
बस चढ्ने पैसा नभएकाहरु रकेट सयरको सपनामा छन् ।
चुनावसँगै दोहोरी सकेर तेहेरी र चौथो चुनावताका पनि सोधिने प्रश्नहरुका समाचार
-प्रधानमन्त्रीलाई स्वरोजगारका तालिमहरु
-प्राथमिकतामा छिमेकी, राहतमा सरकार
-सम्झौतामा रमाइरहेको मल
-चामल, नुनको मूल्य भन्दा सुनको चासो
-घरघरमा सुत्केरी, सिंहदरबारमा स्याहार
-दल र दलित
-मन्त्री धेरै मानवता थोरै
-सुकुम्बासी र सडकको मित्रता
-मतपत्र पुग्छ सजिलै बाटो, कितावको बाटोमा खाल्डाखुल्डी धेरै,
यावत् समाचारका हेडलाइनले बाटो छेकिरहेका छन् चुनावको ।
संविधानका पानाहरु च्यातेर
भाडाका कोठाहरु सजाएको छ-राष्ट्रवादले ।
पोहोर परारै, विद्रुप राष्ट्रवादका नारा घन्काएका रेडियो, टिभी र मोबाइल कसोकसो थाकेका देखिन्छन् यो पाला ।
गुणका आत्मामा अवगुणको मसी भरेर
भ्रुणले पाठेघरको भित्तामा लेख्न थालेको छ-मुर्दावाद र जिन्दावाद नाराहरु ।
गुज्रिङ्ग कवाडखानाका कुनामा कोचिएका छन् किताबहरु,
गणित र बिज्ञानका नियम घोकाउने मास्टरसापहरुले माओ, लेलिन र लोकतन्त्रका परेडहरु पढाउन थालेका छन् ।
हरितगृहको प्रभावले निसास्सिएको पृथ्वी जस्तै, निसास्सिएका छन् उसका प्रजा, लोक र गणतन्त्रका सारहरु ।
रोगबाट विक्षप्त भएको बहुदल, धर्मनिरपेक्षता, समावेशीका डिस्चार्ज बिरामीहरु उच्च सङ्क्रमणको जोखिममा छन् ।
चराहरुले असरल्ल बिस्कुन बिस्टाए जसरी
भिड जम्मा भएको छ,
जहाँ जबजको गजब मेला लागेको छ ।
मेलामा “समुन्नत नेपाल, खुसी नेपाली” गीतमा आइटम डान्सका ठुम्का मारिरहेको छ ।
ग्यास, पेट्रोल, खाद्यान्नमा जसरी लाइनले सास्ती दिन्थ्यो
उसैगरी खुसी हुँदै लाइनमा नेताको भोजमा सामेल छन् जनता ।
चाडबाडका बेला जस्तैगरी आउनुहुन्छ उहाँ
दिनभर प्रचण्ड घाम खाएर भोट पनि हाल्नु हुन्छ
भोलिपल्ट जस्तो उत्सुकताले झोला भरेर आउनु भाथ्यो
उसै नैराश्यताको झोला लिएर मुग्लान पस्नुहुन्छ ।
बेरोजगारीका लागि जस्का बुवा
मुग्लानले उमेर खाईदियो
उसैको छोरो पैँचालिस दिनको म्यादे जागिरेमा रोजगारको भर्ती भएको छ ।
उहाँलाई यही देश उही नेताले दिने भनेको चुनाव हो
र चुनावको प्रतिफलले दिने भनेको म्यादे जागिर ।
उसका बुवा वाचडग जनता भएरै रित्तो झोला बोकेर पुनः मुग्लान फिर्नुहुन्छ,
भेट सायद अर्कोताका चुनावमा भोट हाल्नेगरि मात्रै हुन्छ अब !
(कवि बोगटी लम्कीचुहा नगरपालिका कैलालीमा जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।)