मकवानपुर, ८ चैत ।
मकवानपुरमा यस वर्ष ६ हजार १ सय ६३ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुने भएका छन् । चैत १५ गतेबाट सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
मकवानपुरमा एसइई परीक्षामा नियमिततर्फ ५ हजार ७ सय ५०, प्राविधिक धारतर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेडतर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिकतर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ६३ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने समन्वय ईकाईले जनाएको हो ।
इकाईका अनुसार यस वर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तहमा ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । सामुदायिकतर्फ १ सय र संस्थागततर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने समन्वय इकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिए ।
परीक्षाको तयारी पूरा भइसकेको बताइएको छ । उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरिसकिएको गौतमले जानकारी दिए । परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण कार्यक्रम १/२ दिन भित्रै संचालन गरिने उनले बताए । उनका अनुसार संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको छ ।
यस वर्ष मकवानपुरमा बागमती गाउँपालिकाको जनता मावि फापरबारी, बकैया गाउँपालिकाको बुद्ध मावि हात्तीसुडे र महेन्द्र मावि छतिवन, थाहानगरपालिकामा जनकल्याण मावि पालुङ, मत्स्यनारायण मावि पालुङ, इन्द्रसरोवर गाउँपालिकामा सरस्वती बालबोधीनी मावि मार्खु, भीमफेदी गाउँपालिकामा बज्रबाराही मावि,निबुवाटार र महेन्द्र मावि भिमफेदी, मनहरी गाउँपालिकामा राष्ट्रिय रोटरी मावि सुनाचुरी, महेन्द्र किरण मावि ज्यामिरे परीक्षा केन्द्र तोकिएका छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकामा महेन्द्र किरण मावि बसामाडी, निर्मल मावि बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक राष्ट्रिय मावि, ज्ञनदा मावि,वाल ज्योती मावि पिप्ले, सिद्धार्थ मावि, भुटनदेवी मावि, जिएस निकेतन, सोलिड्यारिटी बोर्डिङ स्कुल, प्रगति मावि, जनप्रिय मावि हटिया,अमर मावि, चन्द्रोदय मावि र राक्सिराङ गाउँपालिकस्मा प्रजा जागृति मावि गरी २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो । मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ ।