साहित्यका मुख्य विधा आख्यान, कविता, निबन्ध र नाटकमध्ये आख्यान विधाको उपविधाका रुपमा उपन्यासलाई लिने गरिन्छ । उपन्यास गद्य शैलीमा लेखिने आख्यानको सशक्त र प्रभावकारी उपविधा हो । उपन्यासले सम्पूर्ण जीवन र मानव इतिहासलाई प्रतिनिधित्व गर्न सक्ने क्षमता राख्दछ । लोकाख्यान वेद, पुराण, भागवत, रामायण, महाभारत र मिथकका रुपमा आएका अनुभूतिगत मूल्यहरूलाई शब्दहरूको कलात्मक संयोजनद्वारा निर्माण गरी उपन्यासलाई वर्तमान अवस्थासम्म विकसित गराउने कार्य तीव्र गतिमा भइरहेको देखिन्छ ।
उपन्यास शब्दको शाब्दिक अर्थले नजिकै विन्यास गर्नु वा जीवनको सामिप्यता प्रदान गर्नु भन्ने अर्थ दिन्छ । ‘न्यास’ शब्दमा ‘उप’ उपसर्ग लागेर बनेको यो शब्द मूलतः उप+नि+अस्+(घ‘)अ =उपन्यास यसरी व्युत्पन्न भएको देख्न सकिन्छ । ‘अस्’ धातुबाट बनेको उपन्यास शब्दबाट जीवनको ग्रहणीय, मननीय र अनुकरणीय विषयवस्तुको प्रस्तुति हुने गरेको मानिन्छ । उपन्यासमा मानव सभ्यताको चित्रण र प्रकृति प्रदत्त शाश्वत सत्यको उद्घाटन गरिन्छ । विश्व साहित्यमै चर्चित विधाका रुपमा चिनिएको उपन्यासले आख्यान साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । उपन्यासलाई गद्यमा लेखिएको महाकाव्य पनि भन्ने गरिन्छ । उपन्यास आख्यानात्मक रचना भएकाले यसमा घटना, विषयवस्तु, चरित्र, परिवेश, उद्देश, भाषाशैली, दृष्टिबिन्दुजस्ता तत्वहरू अनिवार्य र प्राथमिक स्तरका हुन्छन् भने द्वन्द्व, बिम्ब, प्रतीक, अलङ्कार, शीर्षक र संवाद विधानआदि सहायक तत्वका रुपमा समावेश हुन्छन् ।
पाश्चात्य साहित्यको देन मानिने उपन्यासको परम्परा नेपाली साहित्यमा आख्यानलेखन परम्पराबाट भएको हो । नेपाल एकीकरणको अभियानसँगै सुरुवात भएको उपन्यासलेखनको परम्परा वर्तमानसम्म आइपुग्दा विभिन्न शैली संरचनाकासाथ विकसित भएको पाइन्छ । नेपाली उपन्यासका सम्बन्धमा आधुनिक नेपाली उपन्यासको प्रारम्भ वि.सं.१९९१ देखि सुरु भएको हो । यस समयदेखि वर्तमानसम्म आइपुग्दा नेपाली उपन्यासले विभिन्न कालखण्डहरू पार गर्दै आएको छ । ती चरणहरू भित्र पनि आदर्शाेन्मुख यथार्थवादी, सामाजिक यथार्थवादी, प्रगतिवादी, मनोविश्लेषणवादी, प्रयोगवादी, नारीवादीका साथै मिथकीय प्रवृत्तिका उपन्यासहरू प्रशस्त लेखिएका छन् । तिनै आख्यानहरूका साथ औपन्यासिक तत्वबाट सुसज्जित भई बेजोड रुपमा आफ्नो उडान भरेको ‘रावणायन’ पौराणिक औपन्यासिक ग्रन्थ ग्रहणीय र सङ्ग्रहणीय विशिष्ट आख्यानपरम्परामै अनुपम देन बनेको छ ।
यस कृतिका कृतिकार खनाल रेवतीरमण ‘रमण एप्याथी’ को जन्म पिता केशरीप्रसाद खनाल र माता खिमाकुमारी खनालका नवौं सन्तानमध्ये जेष्ठ पुत्र रत्नका रुपमा वि.सं. २०१३ आषाढ २३ गतेका दिन सानाबेसी, मिर्काेट गोर्खामा भएको थियो । हाल स्थायी साधनागृहका रुपमा भरतपुर–१०, शान्ति इन्द्रेणी टोल, चितवन नै परिचित छ । वास्तविक नाम रेवतीरमण खनाल भए पनि साधकका रुपमा साहित्यिक फाँटमा भने खनाल रेवतीरमणका उपनामले परिचित छ । खनालले बी.ए सम्मको औपचारिक अध्ययन गरेका छन् । खनालले स्वअध्ययनबाटै आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाएको देखिन्छ । भृकुटी पल्प एण्ड पेपर लि.गैंडाकोट साबिक नवलपरासीबाट नवौं तह प्रबन्धक पदको जिम्मेवारीबाट छब्बीसौं वर्षमा सेवानिवृत्त मृदुभाषी खनाल साहित्य सङ्गम, चितवन प्रगतिशील लेखक संघका साथै त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुरमा आबद्ध छन् ।
भाषा साहित्यको उन्नयनमा वि.सं.२०३३मा‘अर्पण ’राष्ट्रिय साप्ताहिक पत्रिकामा‘अर्पण ’शीर्षक कविता प्रकाशनपश्चात बामे सारेको देखिन्छ । समाजका विकृति र विसङ्गतिलाई उधिन्न सक्ने समाजको यथार्थ प्रतिबिम्बित ग्रन्थ नै अमूल्य सिर्जना ठम्याउने खनालले देशभित्रका प्रायः सबै जिल्ला र बाह्य पर्यटकका रुपमा जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत भारतका केही स्थानहरूको सामाजिक, धार्मिक, आर्थिक वर्तमान यथार्थ परिवेशको अनुगमन गरी आफ्ना सिर्जनामार्फत देशको काँचुली फेर्न नेपाल आमाका सबै सन्ततिहरू लाग्नुपर्ने विचारहरू मुखरित गर्न सफल भएका छन् ।
कृतिकारका रुपमा खनालका अनुपम उपहारहरू ः
१. ल्याउँ साम्यवाद (काव्य–२०४७)
२. कथोपकथन (कविता–गीतसङ्ग्रह–२०५९)
३. मान्छेभित्र मान्छेको खोजी (हाइकुसङ्ग्रह–२०६१)
४. गजलपथका यात्रीहरू (सहलेखन–गजलसङ्ग्रह–२०६१)
५. जूनको रोटी (कवितासङ्ग्रह–२०७१)
६. अर्जुन–बाण (मुक्तकसङ्ग्रह–२०७१)
७. बागी अक्षरहरू (कवितासङ्ग्रह–२०७८ )
८. जीवन र मृत्यु (सूत्रकाव्य–२०७८ ) आदि प्रकाशित छन् ।
नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्नुका साथै सामाजिक अभियन्ताका रुपमा अहोरात्र राष्ट्रनिर्माण कार्यप्रति समर्पित खनाल सर्वाेत्कृष्ट कविता सम्मान–२०६१, शहीद शिव पौडेल स्मृति पुरस्कार–२०७१, भैरव वाङ्मय पुरस्कार–२०७८ का साथै अन्य विविध सम्मानबाट विभूषित भएका छन् ।
खनालद्वारा लिलित भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘रावणायन’ नेपाली साहित्यमा मात्रै नभएर सिङ्गो ब्रह्माण्डकै बजारमा अनुसन्धानात्मक पौराणिक मिथकीय विषयवस्तुमाथि रहेर असत् व्यक्तित्वका रुपमा विश्व विख्यात बहु विधाका जानकार, कुशल राजनीतिज्ञ, षड्दर्शन र रसायनशास्त्रका ज्ञाता एवं वास्तुविद् रावणलाई महानायक पात्रका रुपमा यस कृतिमा उभ्याइनु सिङ्गो भाषा साहित्यका लागि महान उपलब्धि हो ।
लेखकले यस उपन्यासमार्फत यथास्थितिवादको परिपोषक समाजमा तत्कालीन समाजका अभिजात्य वर्गद्वारा शोषित, पीडित समाजले नीच ठहर्याएका, हेपिएका, चेपिएका व्यक्तिहरूको परिपालक, रक्षसंस्कृतिका परिपोषक ब्रह्मज्ञानी चौँसठ्ठीकलामा पारङ्गत रावणद्वारा प्रजा र राष्ट्रको उन्नयनप्रति निश्वार्थ भावले गरिएका कार्यमाथि नवीन तरङ्ग पैदा गरी वर्तमानका शासक र नेतृत्वपति व्यङ्ग्यात्मक रुपमा तीखो झापट प्रहार गर्दै आफ्ना मानसपटलमा उब्जिएका कौतुहलता मेट्न अनिवार्य पाठकवर्ग, धर्मावलम्बीका साथै देशलाई अधोगतितर्फ धकेल्ने मुद्रा राक्षसहरूले उक्त सङ्ग्रहणीय ग्रन्थ पढ्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्न सफल भएका छन् । यस कृतिले दैत्यराज सुमाली र केतुमतीको नाति प्रहस्तको भानिज पुलस्त्य ऋषिपुत्र विश्रवा र कैकसी पुत्र रावणको उदात्त चरित्र र कर्मलाई निर्भीकता पूर्वक अगाडि सारेको छ । कर्तव्यप्रति निष्ठावान् इन्द्रजाल, सम्मोहन र तन्त्र विद्यामा पारङ्गत अप्रतिम प्रतिभाको धनी बुद्धि, बल र चातुर्यको त्रिवेणी दूरगामी प्रजापालक रावण तपस्वी, विद्वान र पराक्रमीका साथै दार्शनिक चेतको समष्टि रुप भएकाले बलशाली आदर्शाेन्मुख अनुकरणीय पात्रका रुपमा अगाडि सारिएको छ । रावणको जीवनगाथामाथि अनुसन्धानात्मक विहङ्गम दृष्टिपात गरी खलपात्रका रुपमा ख्यातिप्राप्त रावणको उदारमना चरित्र र जीवनशैलीलाई यस कृतिले अथ्र्याउँदै नेतृत्वतहलाई रावणको सत् कार्यशैलीको सिको गर्न आह्वान गरेको छ ।
भुँडीपुराण प्रकाशनले बजार व्यवस्थापन गरेको उक्त कृति समग्रमा २८४ पृष्ठमा आबद्ध रहेको छ । १६ पृष्ठमा पुस्तकको अग्रभागको कवि तथा चित्रकार प्रकाश थापा (प्रथा) द्वारा वृत्ताकारमा बनाइएको विद्वान रावणको आवरण, आराध्येश्वर शिवको ताण्डववस्थाको रुपाकृतिसहितको शिवलिङ्ग, कृतिको नामका साथै डा. धनेश्वर भट्टराईद्वारा लिखित भूमिका खण्ड र विषय सूचीले ओगटेको छ । २१६ पृष्ठमा आख्यान विभिन्न आयाममा छोटा विश्रामसहित विस्तारित रहेको छ।
राक्षसराज सुमालीको वनविहार, कैकसीको नारद र विश्रवासँगको संवाद, विश्रवाको पिता, मातासँगको वार्तालाप, कैकसीको डाह, ऋषिको तप भङ्ग, रावणको तपस्याको सङ्कल्प, ब्रह्माबाट वर प्राप्ति, शिवजीको आराधना, विश्रवा र पुलस्त्यको आशीर्वचन, लङ्काबाट कुवेरको उठिबास, रावण र मन्दोदरीको भेट, राज्याभिषेक र विवाह, उरपुर विजय, अश्मपुरी विजय, पूर्वकथा, जगज्जयी अभियान, ताडका बध, रावणका विरुद्ध ऋषिमुनीहरू, हत्यारो परिस्थिति, सीताको जन्म, राम विवाह, देवता र ऋषिहरूको कचहरी, राक्षस सेना र साधु–सन्तबीच भिडन्त, प्रहस्त–शूपर्णखा संवाद, दुर्दिनको संवाद, सीता हरण, सीताको खोजीमा राम र लक्ष्मण, अशोकवाटिकामा सीता, महर्षि अगस्त्यसँग भेट, शबरीको रामभक्ति, सुग्रीवसँग मित्रता, सीताको खोजीमा सुग्रीव र सम्पातिको योगदान, हनुमानको विभीषणसँग भेट, लङ्का दहन, वानरसेनाको लङ्का प्रवेश, रामको पुरोहित रावण, प्रहस्त बध, मेघनाद बध, कुम्भकर्णको मृत्यु, राम–रावण युद्ध, मन्दोदरीमाथि विभीषणको कुदृष्टि, मय दानवको लङ्का आगमन, अरिमर्दनको उदय, अरिमर्दनको सत्तारोहण यस कृतिको परिशिष्ट खण्डमा २१७ देखि २८२ सम्म, रावणको चरित्र चित्रण, रावणका मन्दिरहरू, केही चिरफारसहित रामायणको नालीबेली, विवादास्पद राम जन्मभूमि र पश्चकथनमा विस्तारित छ ।
पश्च भागको भित्री भागमा लेखकको अर्धकदको सुन्दर तस्बिरका साथ परिचय र आभार खण्ड पनि समेटिएको छ भने पश्च आवरण भागमा भने प्रा.डा.जगदीशचन्द्र भण्डारीको कृतिमाथिको सङ्क्षिप्त आकलन, लेखकको श्वेत तस्बिर, भुँडीपुराण प्रकाशनको साङ्केतिक चिह्न र ठेगाना रहेको छ ।