भरतपुर, ७ चैत ।
बिरामीको सुविधाको लागि भरतपुर अस्पतालले सेवामा सुधार ल्याउँदै स्तरोन्नति गरेको छ । विभिन्न विभागमा मेसिनसहित सेवालाई प्रभावकारी बनाउन व्यवस्थित गरिएको छ । बिरामीको चापलाई मध्यनजर गरेर सेवालाई व्यवस्थापन गरिएको छ ।
ओपिडी, सर्जरी, अन्तरंग, प्रयोगशाला, इमरजेन्सीसहितका विभागमा सुधार गरिएको छ । मंसिरमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. श्रीराम तिवारीले अस्पतालको साना समस्याको पहिचान गरी सुधारको काम थालेका थिए । बिरामीको सहजताका लागि सुधारका काम भएका छन् । डा. तिवारीले बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको बताए ।
‘पहिला समस्याको पहिचान गरेर मात्रै समाधानको लागि केन्द्रित भएका छौं’ उनले भने, ‘बिरामीको चाप बढी हुने कारण केही कठिनाई नभएको होइन । तर हामीले साधन स्रोतलाई व्यवस्थापन गर्दै सहज बनाउँदै लगेका छौं ।’ आफू विधि र पद्धतिभन्दा कत्ति पनि बाहिर नजाने प्रतिबद्धता गरेका तिवारीले प्रशासनिक सुधार पनि गरेका छन् ।
भरतपुर अस्पतालमा पछिल्लो समय २४ सैया थप गरिएको छ । बिरामीको चाप बढेको कारण चार वटा बेड आइसियुमा थप गरिएको छ । सुविधा अनुसारको बेडका कारण अस्पताल आउने बिरामी आइसियुको अभावमा बाहिर जान नपरेको अस्पतालले जनाएको छ ।
बालरोग विभाग अन्तर्गत पाँच बेडको एचडियु स्थापना गरिएको छ । पाँच बेडको बर्थिङ युनिट पनि यसपालिबाट सुरु भएको छ । थालेसिमियाका बिरामीको लागि तीन बेड अलग्गै व्यवस्थापन गरिएको छ । १२ बेडको एनआइसियुलाई २० बेडमा स्तरोन्नति गरिएको छ ।
अस्पतालको गुरुयोजना अनुसार बनेका भवनमा सेवालाई व्यवस्थापनसँगै नयाँ कार्यक्रम ल्याइएको छ । अस्पतालमा बेड थप, बिरामीलाई सहज हुने गरी वार्ड नजिक डिस्चार्ज हुने व्यवस्था गरिएको छ । आपतकालीन सेवाका लागि आउने बिरामीको लागि इमरजेन्सीमै ल्याबको सुविधा गरिएको छ ।
अस्पतालका बिरामी वार्डबाटै डिस्चार्ज हुन पाउने भएका छन् । वार्डका बिरामी अन्य बिरामीको उपचारका लागि शुल्क तिर्नपर्ने लाइनमा बस्न नपर्ने भएको छ । फागुनको पहिलो साता वार्डका बिरामीलाई भर्ना भएको नजिकै काउण्टरको स्थापना गरेर सजिलै डिस्चार्ज हुने व्यवस्था मिलाइएको छ ।
भरतपुर अस्पतालले सेवा सुधारसँगै अस्पतालमा आउने बालबालिकाको लागि बाल क्षेत्र बनाएको छ । अस्पतालमा बालमैत्री क्षेत्र बनाइएको छ । अस्पताल आउने बालबालिकालाई भुलाउनका लागि खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको काम भएको बताए । ‘जति हामीले सेवा थप गरेका छौं, त्यसले धेरै सहज भएको अनुभूति भएको छ’ डा. सापकोटाले भने, ‘हामीले बिरामीमैत्री, अपाङ्गतामैत्री र बालमैत्री पूर्वाधार बनाएका छौं । अब ओपिडी भवन बनाउन सक्यांै भने अझै सहज हुनेमा आशावादी छौं । ’
भरतपुर अस्पतालको सेवा, ल्याब लगायतको शुल्कलाई बिमासँग एकरुपता गरिएको छ । शुल्क र सुविधालाई समान बनाउन एकरुपता गरिएको हो । यो भरतपुरमाबाहेक अन्यत्र छैन ।
अस्पताललाई गुरुयोजना अनुसारको भवन बिस्तार र ब्यवस्थापनको काम पनि तीब्र पारिएको छ । पुराना भवनलाई भत्काएर व्यवस्थापन गरिएको छ । पूर्वअध्यक्ष राजकुमार राजभण्डारीको कार्यकालमा पारित अस्पतालको गुरुयोजना अनुसार विकास र बिस्तारको काम पनि सँगसँगै गरिएको छ ।