भरतपुर, ४ चैत ।
नारायणी नदी किनारमा चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ । महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको छ ।
सबै आदिवासी जनजातिलाई समेटेर साँस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो । हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय संगठित भएर जनजाति महासंघमा आवद्ध छन् । तिनैमध्ये कम्तिमा १० वटा जातजातिको घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ ।
महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो ।
साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुने छन् ।
महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ । परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछिन् ।
यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ । जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश रानामगरले बताए ।
महोत्सवको आर्थिक उपसमितिका संयोजक पवन गुरूङका अनुसार महोत्सव अवधिभर करिब ८० देखि ८५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।