मकवानपुर, ३ चैत ।
गजल मञ्च मकवानपुरले हेटौँडा गजल उत्सव सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा १४ गजलकारहरूबाट गजल प्रस्तुत भयो ।
गजल मञ्च मकवानपुरको २१२औँ नियमित सन्ध्याका क्रममा श्याम बानियाँ, विश्वनाथ सञ्जेल, यश लामा, सानु खनाल, धर्मराज स्याङ्तान, सुबास सजल, भवानी तिमल्सिनाले आ-आफ्नो गजल वाचन गर्नुभयो भने अजर फुयाँलले ‘फर्क अभियान’ अन्तर्गतको गजल गायन गर्नुभयो ।
विशेष गजल गायन/वाचनतर्फ बाबु त्रिपाठी, पुरूषोत्तम आचार्य, शितल कादम्बिनी, घनेन्द्र ओझा र रुपक वनबासीले आ-आफ्नो रचना प्रस्तुत गर्नुभयो ।
गजल स्रोताहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा गजलसम्बन्धी बहस समेत सञ्चालन भयो । बहसमा घनेन्द्र ओझा, बाबु त्रिपाठी, शितल कादम्बिनी सहभागी रहनुभयो । ‘नेपाली गजलः यात्रा र गन्तव्य’ विषयक बहसलाई दीपक गौतमले सहजीकरण र निमेष निखिलले अभिभाकत्व ग्रहण गर्नुभयो ।
झन्डै २ दशकदेखि मकवानपुरमा सक्रिय गजल मञ्च मकवानपुरले पत्रपत्रिका प्रकाशन, युवा पुस्ताका सर्जकहरूलाई हौसला, विद्यालय तथा नवसर्जककेन्द्रित गजल लेखन र वाचन लगायतका श्रृङ्खलाहरू सञ्चालन गर्दै सक्रियरुपमा लेखन कार्यलाई जोड दिइरहेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले शुभकामना मन्तव्यका क्रममा बताउनुभयो ।
कार्यक्रममा गजलकारद्वय बाबु त्रिपाठीले नवपुस्तालाई सङ्कोच नमानीकन गजल लेख्नका लागि अनुरोध गर्नुभयो भने घनेन्द्र ओझाले शास्त्रिय गजल लेखनका खास नियमहरू रहेकाले अहिले नेपाली गजल लेखनमा कुनै मानक स्थापना नभएको र गजल भनेर गजल नलेखिएको बताउनुभयो ।
गजल मञ्च मकवानपुरको अध्यक्ष केशव समर्पणको अध्यक्षता, वडा नम्बर ४ कार्यालय, हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमेन्द्र महर्जन, मनोज शाही, भरत घलान र शर्मिला श्रेष्ठको वाद्यवादन रहेको थियो ।
रोयल पार्टी प्यालेस, हेटौँडामा सम्पन्न कार्यक्रममा दीपक गौतम, मणिराज गौतम, राजकुमार लामिछाने, कृतिका लौडारी, सबिता तिमल्सिना, सुरेश श्रेष्ठ, छवि अनित्यलगायतका साहित्य सर्जक, पत्रकार, साहित्यसेवीहरूको उपस्थिति रहेको थियो ।
गजल मञ्च मकवानपुरका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो ।