भरतपुर, ३ चैत ।
कवि गणेश श्रमणको कवितासङ्ग्रह `आगो लिएर गाउँगाउँमा´को चर्चा छ हिजोआज । भरतपुर महानगर निवासी
कवि गणेश भरतपुरको मुख्य बजारभन्दा थोरै दक्षिणतर्फ गाउँमा बस्छन् । गाउँमा बस्ने कवि गणेशको उक्त कवितासङ्ग्रहलाई मुख्य भरतपुरको पूर्वतर्फ भोजाड गाउँमा लगेर विमर्श गरिएको छ । `म गाउँमै जन्मिएँ, गाउँमै हुर्किएँ, म गाउँमा बस्छु । मलाई गाउँ मनपर्छ´, कविता गणेशले भने – `कविता पनि गाउँकै लेखेको छु । किताबको नाम पनि गाउँ कै आएको छ । यसलाई चरितार्थ गर्न कार्यक्रम गर्न पनि गाउँ रोजेको हूँ ।´
शनिबार अभिव्यञ्जना साहित्य प्रतिष्ठानले विमर्श कार्यक्रमको चाँजोपाँजो मिलाएको हो । भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित निर्भाणा पार्टी प्यालेसमा कार्यक्रम गरिएको हो । सीताराम कोइरालाले अध्यक्षता गरेको कार्यक्रममा कृतिको विमर्श सँगसँगै कवितावाचन पनि गरिएको छ ।
कार्यक्रममा कवि गणेशले गाउँमा जेल हुँदैन, देश कसलाई चाहिन्छ ?, भेटिएको अखबार, खोइलको घर, बिरालोले काटेको बाटो, बाथरुममा हतार शीर्षकका ६ वटा कविताहरू प्रस्तुत गरे । कवि गणेशले कार्यक्रममा गाउँ केन्द्रित कविताहरू सुनाए । सङ्ग्रहमा ५५ वटा कविता छन् । ती मध्ये धेरै कविताले गाउँलाई सम्बोधन गरेका छन्, गाउँलाई चित्रण गरेका छन् ।
कार्यक्रममा डाक्टर एकनारायण पौड्यालले कृतिको समीक्षात्मक टिप्पणी राखे । नरम र सरल स्वभावका कवि गणेशका कविता पनि नरम र सरल भएको समीक्षक पौड्यालले बताए ।
कार्यक्रममा कवि पदम अर्याल, नवराज ढुंगाना, सरिता तिवारी र भूपिनले गणेशका एकएकवटा कविता वाचन गरे । त्यसैगरी इन्द्र रेग्मी, एलबी क्षेत्री र गोविन्दराज विनोदीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सुरेन्द्र अस्तफलले सहजीकरण गरेका थिए ।