भरतपुर, २ चैत ।
लेखक टीकाराम रेग्मीको कथासङ्ग्रह `बाँसुरीको धुन´ सार्वजनिक भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा शुक्रबार कृष्णपुरस्थित होलिडे पार्टी भेन्यूमा भएको कार्यक्रममा समूहका अध्यक्ष रमेश प्रभात, प्रमुख अतिथि जनस्वास्थ्य अधिकृत दुर्गा न्यौपाने, लेखककी श्रीमती सुमित्रा रेग्मीलगायतले पुस्तक विमोचन गरेका हुन् । चैत २ गते लेखक रेग्मीको जन्मदिन हो ।
कार्यक्रममा समालोचक डाक्टर केशवराज चालिसे र पत्रकार प्रतिमा सिलवालले पुस्तक बारेमा समीक्षात्मक टिप्पणी राखेका थिए । समालोचक चालिसेले सङ्ग्रहमा रहेका १५ वटै कथाको अलगअलग टिप्पणी राखेका थिए । रेग्मीका कथामा भूगोल, धर्म, राजनीति र बसाइँसराइका फरकफरक प्रसङ्ग चित्रण भएको चालिसेले बताए ।
पत्रकार प्रतिमा सिलवालले सङ्ग्रहका कथाले वर्तमान बोल्ने बताइन् । अभाव, बिदेशको मोह, संघर्ष, सामाजिक बहिष्कारका प्रसङ्गलाई पनि कथाकार रेग्मीले कथामा समेटेको सिलवालले बताइन् । `नारायणगढ र बन्दिपुरको साइनो सँगसँगै चितवनको बस्ती विकासका कुरा उहाँका कथामा छन्´, सिलवालले भनिन् – `आफू शिक्षक भएकोले शिक्षकका कुरा, राजनीतिक चाकडी, सामाजिक बहिष्कार एवम् स्थानीय स्तरका थुप्रै प्रसङ्गलाई उहाँले कथामा उतार्नु भएको छ ।´
त्यसैगरी डाक्टर एकनारायण पौड्याल, एलबी क्षेत्री, उदय अधिकारी, भूपिन र निर्मला तिवारीले कृतिको चर्चा गर्दै मन्तव्य राखेका थिए । अक्षर समूहका सचिव लेखराम सापकोटाले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
रेग्मीका शैक्षिक एवम् साहित्यिक गरी झण्डै २० वटा पुस्तक प्रकाशित छन् । भरतपुर महानगरपालिका–७ वागवानी मार्गका स्थायी बासिन्दा रेग्मीको साहित्य विद्यातर्फ यो पाँचौँ कृति हो । यसअघि विसं २०७१ सालमा ‘विपर्यास’ कथासङ्ग्रह, २०७४ सालमा ‘अनुनाद’ यात्रास्मृति, २०७६ सालमा `आवरण´ लघुकथा र २०७८ सालमा `उज्यालोतिर´ शैक्षिक उपन्यास पुस्तकहरु उनले प्रकाशित गरिसकेका छन् । पाठ्यक्रमसँग सम्बन्धित रेग्मीका करिब १५ किताब प्रकाशित छन् ।
विसं २०१३ सालमा स्याङ्जाको भीरकोटमा जन्मिएका रेग्मी त्यहाँबाट बसाइँ सरेर रुपन्देही हुँदै चितवन आएका हुन् । रेग्मीले जन्मदिनको अवसर पारेर चैत २ गतेको साइतमा पुस्तक सार्वजनिक गरेको बताए ।
सुनवर्षी बुक हाउसले प्रकाशन गरेको पुस्तकमा १५ वटा कथा छन् । पुस्तकको मूल्य ४५०/- छ ।