मकवानपुर, ३० फागुन ।
हेटौंडामा कृशु अर्यालको कवितासङ्ग्रह ‘पल्लवित पाइला’ विमोचन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालकाे कवितासङ्ग्रह विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले कविले समाजलाई सही बाटो पहिल्याउन र देखाउनु पर्नेमा जोड दिए । ‘साहित्य भाषामा अनेक विधा हुन्छन्’ निखिलले भने – ‘कविता विधा अरु साहित्य भन्दा फरक हुनुपर्छ ।’ साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्यामकुमार बानियाँ र आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले कृशु अर्यालको कविता सङ्ग्रहको समीक्षा गरेका थिए ।
३७ वटा कविता समावेश भएको अर्यालको पुस्तकमा थोरै सम्पादनको खाँचो आवश्यक रहेको बानियाँले औँल्याएका थिए । अर्यालद्वारा लिखित पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको सापकोटाले बताइन् । पल्लवित पाइला अर्यालको पहिलो कृति हाे ।
स्थानीय पत्रपत्रिकामा प्रकाशित आफ्ना रचनाहरु समावेश गरी पुस्तक तयार गरेको अर्यालले बताइन् । स्कुलकाे माया, शिक्षक तथा हजुरबुवा दुण्डिराज पोखरेलको हौसलाले गर्दा पुस्तक प्रकाशनमा सहयोग मिलेको उनले बताइन् । उक्त पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा हुन् । दृढ स्वभाव भएकी कृशु अर्यालले सानै उमेरदेखि शब्द खेलाउँदै आएकाे विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताए ।
प्रधानाध्यापक सुवेदीको अध्यक्षता तथा सर्जक सञ्जाल अध्यक्ष निखिलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याल, विभिन्न साहित्य संस्थाका प्रतिनिधि तथा साहित्यकारलगायतकाे उपस्थिति रहेकाे थियाे ।