मकवानपुर, ३० फागुन ।
बागमती प्रदेशको राजधानी मकवानपुरकाे हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले आगामी चैत्र २ गतेदेखि महिला उद्यमी प्रदर्शनी आयोजना गर्ने बुधबार हेटौंडामा पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे ।
“पर्यटन, कृषि, लघु उद्यमशीलता,महिला सहभागिता आजको आवश्यकता” नाराका साथ समितिले ११ वर्षपछि प्रदर्शनी गर्न लागेकाे महिला उद्यमी विकास समिति सभापति अंकिता सुमार्गीले जानकारी दिइन् । प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएकाे बताउँदै उनले प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहने बताइन् ।
चैत्र ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा आयोजना हुने प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने बताइएकाे छ । मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, सुनसरीलगायतका जिल्लाका उद्यमीहरुबाट स्टल बुक भएको समेत उनले जानकारी दिइन् । विशेष गरी मकवानपुर जिल्लाकाे उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी निः शुल्क अवलोकनको व्यवस्था गरिएको उनले बताइन् ।
प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुनेछ ।