मकवानपुर, ३० फागुन ।
पूर्व उपप्रधानमन्त्री तथा बहुल राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतोले नेपालमा बहुल राष्ट्रियताको मूल्य मान्यतालाई स्थापित गराउने अभियान थालनी गरिएको बताएका छन् । बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, “नेपालमा सुरुदेखि नै बहुल राष्ट्रियता थियो, सबै पहिचानलाई एकै ठाउँमा राखेपछि नेपाल बनेको हो ।”
हाल नेपालको पहिचान मेटाउने प्रयास भइरहेको बताउँदै उनले भाषा, संस्कृति र अधिकारका सवालमा बहुलतालाई विभिन्न कानुन बनाएर पहिचान मेटाउने काम भइरहेको आरोप लगाए ।
“पटक पटक संविधान बन्छ तर फेल हुन्छ,” महतोले भने, “जनताका लागि भनेर बनाइएको संविधान समेत जनताको लागि भएन भने शासन कसरी जनताको लागि हुन्छ ?” उनले ७० वर्षमा ७ वटा संविधान बने पनि जनताको जीवनस्तर उकास्न नसकिएको बताए । “नेपाली युवाहरू विदेशको मात्र सपना देख्ने स्थितिमा पुगेका छन्,” महतो भने । प्राकृतिक सम्पदाको पर्याप्त उपयोग गर्न सकेको भए नेपाल दुनियाकै उत्कृष्ट देश बन्न सक्ने उनको भनाइ थियो ।
“देशले हालको अवस्थाबाट पार पाउन अधिकार, पहिचान, सभ्यता, संस्कृतिमाथि भएको प्रहारलाई अन्त्य गर्नु जरुरी रहेको छ,” महतोले बताए । शासन र संविधानको आधारमा बहुल राष्ट्रिय राष्ट्र निर्माण गर्नुपर्ने उनको धारणा छ। “देशमा विभिन्न पहिचानलाई स्थान दिनुपर्छ, एकल जातीय चिन्तनबाट मुलुक बन्दैन,” उनले भने, “देशमा स्थिरता प्रदान गर्नका लागि संविधान र शासन स्थिर हुनुपर्छ ।” देशमा अप्राकृतिक ढंगले शासन भइरहेको बताउँदै उनले प्राकृतिक रूपमा शासन हुन स्वदेशबादको भावना जागृत हुनुपर्ने बताए । संघीयताको नाममा बेइमानी भएको समेत उनले बताए ।
नेपालको सभ्यता पूर्विय भए पनि पश्चिमा संस्कृति हावी हुँदै गएको महतोको भनाइ छ। राजनीतिक जीवन नेपाल सदभावना पार्टीबाट सुरु गरेका महतोले मधेशवासी जनजातिले पाउने उच्च स्थान भनेको उपप्रधानसम्म मात्र भएको बताए । “प्रधानमन्त्री पद त हामिलाई मरेपनि नदिने,” उनले भने । नेपालमा भएका दर्जनौं जातिलाई समेत स्थान दिइनुपर्ने बताउँदै महतोले सुन्दर देश नेपालको विकासमा उपनिवेशवादी सोच कारक भएको दाबी गरे ।
“सत्ता केन्द्रित कुर्सी बचाउने लडाइँमै रहेका शासकले केही गर्न सक्दैनन्,” उनले भने, “शासकले आफ्नैलागि कानून बनाए ।” महतोले हाल अभियान, संघर्ष, विरोध र अन्तमा क्रान्ति गर्ने योजनामा रहेको तथा २०८२ सम्ममा राष्ट्रिय मुक्ति क्रान्ति सकाउने अभियान रहेको बताए ।