लमजुङ, २९ फागुन ।
लमजुङको लिस्नु साहित्यिक परिवार र मकवानपुरको झरना साहित्यिक परिवार (झसाप)ले लमजुङको बेसीशहरमा संयुक्त काव्य गोष्ठी गरेका छन् । झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्तर्गत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।
कार्यक्रममा मकवानपुरबाट झसापका संरक्षकद्वय रमेशमोहन अधिकारी र जनार्दन खनाल, सल्लाहकार लक्ष्मी जिम्बा, कविहरू सीता खनाल, सुवास खनाल, लोकगायिका मञ्जु दाहाल, पत्रकार महेन्द्र ओझा, इन्दिरा पाण्डेलगायतको उपस्थिति रहेको थियो भने लमजुङबाट साहित्यकारहरू वासुदेव सेढाई, बेनबहादुर सुयाल, वसन्त अधिकारी, राजु थापा, देवीदास बराल, कमला केसी, बालचन्द्र सुवेदी, तीर्थ गुरुङ, सूर्यकला थापा र कमला दनाईको उपस्थिति रहेको थियो ।
यस्तै कार्यसमितिका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवि लामिछाने र गायत्री रुपाखेती, सचिव मसान उपासक, कोषाध्यक्ष कृष्ण घतानीको उपस्थिति रहेको थियो ।
झसाप मकवानपुरको आयोजनामा फागुन २६, २७ र २८ गते भएको तीन दिने साहित्यिक भ्रमणका क्रममा लमजुङको घलेगाउँ, भुजुङ र तनहुँका बन्दीपुरलगायतका क्षेत्रमा साहित्यिक संघसंस्थाहरूले गरिरहेका गतिविधि, त्यहाँका लेखन परम्परा र सांस्कृतिक क्षेत्रका बारेमा अध्ययन अवलोकन गरिएको संथाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।
संस्थाले हरेक वर्ष फरक–फरक क्षेत्रमा साहित्यिक भ्रमण गर्दै आएको छ । साथै संसथाले हरेक वर्ष बकैया कला–साहित्य महोत्सव, प्रत्येक महिना साहित्यिक प्रशिक्षण तथा काव्य गोष्ठीहरू, अर्धवार्षिक रुपमा पत्रिका प्रकाशनलगायतका विविध कार्य गर्दै आइरहेको छ ।