भरतपुर, २८ फागुन ।
चितवन साहित्य परिषद्मा एक कार्यक्रमबिच स्रस्टाहरू राधेश्याम लेकाली र डाक्टर अशोक थापालाई सम्मान गरिएको छ । चिसाप गायत्री -सरस्वती साहित्य पुरस्कार साहित्यकार राधेश्याम लेकाली र चिसाप गीताश्री साहित्य पुरस्कार कथाकार डा.अशाेक थापाकाे `सन्तापकाे धून´ कथाकृतिलाई प्रदान गरिएको हो ।
चितवन साहित्य परिषद्का अध्यक्ष एवम् कार्यक्रमका सभापति केदारनाथ खनाल, प्रमुख अतिथि कोषराज न्यौपान एवम् पुरस्कारका संस्थापकहरुले दुबै स्रष्टालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
दुबै पुरस्कारको राशि जनही ३५ हजार ४५ रुपैयाँ रहेको छ । चिसाप गायत्री सरस्वती साहित्य पुरस्कारका संस्थापक साहित्यकार एवम् चिसापका पूर्व अध्यक्ष गायत्री श्रेष्ठ र सरस्वती रिजाल हुन् । यो पुरस्कार २०७४ सालबाट दिन थालिएको हो । रुकु कार्कीको `बन्धनबाट मुक्ति´ आत्मकथा २०७४, प्रभाकर पण्डितको `तिर्खाको लय´ कवितासङ्ग्रह २०७५, गंगा लिगल २०७६, माया ठकुरी २०७७, इन्द्रकुमार सरित २०७८ र उदय अधिकारी २०७९ ले यो पुरस्कार पाइसकेका छन् ।
चिसाप गीताश्री साहित्य पुरस्कारका संस्थापक चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले र संविधान सभा सदस्य गीता वाग्ले हुन् । अघिल्लो वर्षदेखि दिन थालिएको यो पुरस्कार पहिलोपटक सनत रेग्मीलाई दिइएको थियो ।
कार्यक्रममा सम्मानित स्रस्टा डाक्टर अशोक थापाका बारेमा जगन्नाथ पण्डित र राधेश्याम लेकालीका बारेमा सुरेन्द्र अस्तफलले बोलेका थिए । कार्यक्रममा एलबी क्षेत्री, गायत्री श्रेष्ठ, गीता वाग्ले, प्रकाश चापागाईंलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई परिषद्का सचिव नवराज ढुंगानाले सहजीकरण गरेका थिए ।