भरतपुर, २७ फागुन ।
चितवनको पहाडी गाउँ राप्ती नगरपालिका–१३ मा पर्ने लोथरको कान्दामा मोटर गुड्ने बाटो अझै पुगेको छैन । कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा कक्षा ६ र ७ मा पढ्ने ३० जना विद्यार्थी यो पटक शैक्षिक भ्रमणमा निस्किए । उनीहरु गाडी चढ्ने ठाउँमा पुग्न नै कम्तीमा तीन घण्टा पैदल हिँड्नु प¥यो । यसरी भ्रमणमा निस्केका कान्दाका विद्यार्थीले आइतबार दिउँसो नारायणीमा मोटरबोट चढे ।
नारायणी नदी र त्यहाँ हुँइकिने मोटरबोटबारे धेरैले गाउँमा चर्चा सुनेका थिए । केहीले फोटो र भिडियोमा पनि नदी र मोटरबोट देखेका थिए । तर आइतबार मोटरबोट नै चढ्न पाउँदा रमाएका उनीहरु नदीमा उर्लेको छाल हेर्दै दंग परे ।
‘चढ्दा रमाइलो भयो । हामीले घर गएर बा आमालाई नौलो डुंगा चढेर आयौं भनेर सुनाउने छौं । पानीमा यसरी जोडसँग दौडने डुंगा पहिलो पटक देख्यौं, चढ्न पनि पाइयो’ विद्यार्थी उर्मिला चेपाङले भनिन् ।
कान्दामा सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बसोेबास छ । स्कुलमा पढ्नेहरु पनि अधिकांस चेपाङ बालबालिका छन् । कक्षा ६ र ७ मा पढ्न भ्रमण आएका ३० जना विद्यार्थीमध्ये २९ जना चेपाङ बालबालिका भएको विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपालियाले बताए । गाउँदेखि बाहिर आउ जाउ गर्न कठिन भए पनि विद्यार्थीको ज्ञानको दायरा बढाउन भ्रमणमा निस्केको प्रधानअध्यापक थपलियाको भनाइ छ ।
मोटरबोट सञ्चालक रहेका रंगमहल रिभरल्याण्ड प्रालिका अशेष मल्ल ठकुरीले मोटरबोटका बारेमा विद्यार्थीलाई केही जानकारी दिएका थिए । कान्दाका विद्यार्थीको टोली शनिबार भण्डारा आइपुगेको थियो । उनीहरु आइतबार बिहान मकवानपुरसम्म गएर मकवानपुरगढी र सहिदस्मारक घुमेका थिए । मोटरबोटको यात्रापछि उनीहरु सौराहा गएर हात्ती र अन्य जीव जनावरको बारेमा बुझ्नुका साथै राप्ती किनारबाट सूर्यास्त नियालेका छन् ।