भरतपुर, २६ फागुन ।
शनिबार बुटवलबाट भरतपुर आएकी कवि सुमिनाले भनिन् – `बाटो झनै बिग्रेको रहेछ । उफ् कसरी हिँड्ने यस्तो बाटो ? कहिले बनाइसक्छन् ख्वै ?´ कवि सुमिनाको प्रश्न समसामयिक थियो । हरेक क्षेत्रमा हुनेगरेका ढिलासुस्तीले नागरिकलाई नै सास्ती पुगेको उनको ठम्याइ छ ।
कवि सुमिना कविता वाचनका लागि चितवन आएकी हुन् । चितवन कचेहेरीले आयोजना गरेको कार्यक्रममा आएकी उनलाई कार्यक्रमका सहजकर्ता सिर्जन अविरलले स्वागत गर्दै कविता सुनाउन आग्रह गरे । डबली बुक क्याफेमा निर्धारित समयकै पेरिफेरीमा सुरु भएको कार्यक्रममा सहजकर्ता अविरलको आग्रहमा कवि सुमिनाले तीन वटा कविता सुनाइन् ।



आफ्नो हालै सार्वजनिक पुस्तक `बागी स्त्रीको आत्मकथा´ बाट सुनिनाले `म भत्काउन व्यस्त छु´,
`आधुनिक तानाशाह´ र जात व्यवस्था सम्बन्धि `सम्बोधन´ शीर्षकको कविता सुनाइन् ।
तीन वटा कविता सुनेपछि सहजकर्ता अविरलले प्राध्यापक डाक्टर केशवराज चालिसे र सरिता तिवारीलाई मञ्चमा बोलाएर छलफल गराए । टिप्पणीकार सरिता तिवारीले सुमिनाका कविता विद्रोही चेतका भएको बताइन् । `सुमिनाका कवितामा बिद्रोही चेत छ । उहाँ शालीन भएर कवितामार्फत बिद्रोह गरिरहनु भएको छ । उहाँको कविताको गन्तव्य पनि सुनिश्चित छ ।´
अर्का टिप्पणीकार डाक्टर केशवराज चालिसेले सुमिनाका कवितामा धेरै विचारहरूको प्रस्फुटन रहेको बताए । जीवनका हरेक दृष्टिकोणलाई सुमिनाले वैचारिक धारबाट कवितामा उतारेको उनले बताए । बिद्रोहका नाममा सिर्जनालाई मार्न नहुने कुरामा लेखक चनाखो हुनुपर्ने चालिसेले तर्क राखे ।
कविता वाचन एवम् छलफल कार्यक्रममा नाट्यकर्मी आस्मा एल राई, सविना भुसाल र अञ्जान प्रदीपले कवि सुमिनाका एक एकवटा कविता वाचन गरेका थिए ।
इन्डिगो इन्कले प्रकाशन गरेको कृतिमा ५३ वटा कविता छन् । कृतिको मूल्य ४४९/- छ ।


