भरतपुर, २६ फागुन ।
बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढले ६२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाट तथा विशिष्ट अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीलाल प्रधानबाट पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । त्यसैगरी प्रधानाध्यापक हेरम्बकुमार श्रेष्ठबाट वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।
प्रमुख अतिथि मनोज रानाभाटले पूर्व प्राथमिक विद्यालयतर्फ तयार गरिएको बाल खेलौना कक्ष र कक्षा कोठाको उद्घाटन गरेका छन् । बाल खेलौना कक्ष वडा नम्बर-२ कार्यालयको सहयोगमा बनेको हो भने कक्षा कोठा नारायणगढका मास्के परिवारका सरोज मास्के, पिया परिवारका प्रेमकुमार पिया दम्पत्ति र राजभण्डारी परिवारका ईश्वरकुमार राजभण्डारीको सहयोगमा निर्माण गरिएको हो ।
वडा नम्बर १ का कार्यवाहक अध्यक्ष राममाया पियाबाट उक्त वडाको सहयोगमा माथिल्लो तल्लाको स्तरोन्नति गरिएको (टायल लगाइएको) भागको उद्घाटन समेत गरियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । साँझ दीपावली गरेर कार्यक्रम सम्पन्न गरिएको थियो । विद्यालयका निमावि तह प्रमुख खगराज ओझाले कार्यक्रम सहजीकरण गरेका थिए ।