भरतपुर, २५ फागुन ।
देशभरबाट चितवन आएका साइकलयात्रीहरूको समूहले भरतपुरलाई साइकलबाट परिक्रमा गर्दैछन् । MTB Bug events को आयोजनामा साइकल यात्रा सुरु भएको हो । Tiandy Chitwan heritage ride 2080 टोलीमा १७० जना साइकलयात्री सहभागी छन् । नारायणी नदी किनारबाट शुक्रबार बिहान सुरु भएको यात्रा रामपुर, मेघौलीहुँदै गोलाघाट पुगेर कसरा, जगतपुर, पटीहानी, सीतामाईहुँदै आज साँझ सौराहा पुग्नेछ ।
साइकल यात्रा सुरु हुनुपूर्व उद्योग वाणिज्य संघ चितवनको परिसरमा साइकल यात्रीलाई स्वागत गरिएको थियो । उक्त स्वागत एवम् यात्रा शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका पर्यटन महाशाखा प्रमुख तेजेन्द्र पौडेल थिए । त्यसैगरी विशिष्ट अतिथिका रूपमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ थिए भने पर्यटन विज्ञ डाक्टर विश्व सुवेदी अतिथि रहेका थिए ।
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा पर्या पर्यटन प्रबर्द्धनका साथै विश्वमा कार्वन उत्सर्जन कम गरौँ भन्ने सन्देश दिन साइकल यात्रा गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार साइकलबाट भरतपुर परिक्रमा गर्नेगरी यो यात्रा तय भएको हो ।
यो यात्रा ९० किलोमिटरको हुने भरतपुर भ्रमण वर्ष २०२४ का सचिवालय सदस्य सचिव नेत्रप्रसाद आचार्यले जानकारी दिनु भयो । सौराहा पुगेर सांगीतिक कार्यक्रमसहित यात्रा समापन हुने आचार्यले बताए ।