हेटौंडा, २५ फागुन ।
मकवानपुरको राक्सिराङमा बिहेमा गएका एक युवक मृत भेटिएका छन् । राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चुरीडाँडा बस्ने २७ वर्षीय सोमलाल प्रजा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी बुधबार राक्सिराङ गाउँपालिका वडा नम्बर ५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा गएका थिए । रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल घोप्टो अवस्थामा बिहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।



घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


