मकवानपुर, २३ फागुन ।
केन्द्रीय सत्ताकाे समीकरण बदलिएसँगै बागमती प्रदेशमा समेत त्यसकाे असर परेकाे छ । बागमती प्रदेशमा नेपाली काँग्रेससहितकाे समीकरणमा बनेकाे सरकारबाट काँग्रेस बाहिरिएको छ ।बुधबार काँग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएर सत्ता समीकरणबाट बाहिरिएका हुन् ।
उनीहरुले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाए । काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा गत चैत २५ गते नियुक्त भएका थिए भने स्वास्थ्य मन्त्री जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जन, वन मन्त्री मसिना खड्का र उद्योग वाणिज्य तथा प्रशासन मन्त्री चित्रकार गत जेठ ७ गते मन्त्री नियुक्त भएका थिए ।
राजीनामा बुझाउने क्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने उपस्थिति भएनन् । संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । काँग्रेसले समर्थन फिर्ता लिएमा जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७ र माओवादी केन्द्रका २१ सांसद छन् । बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्दछ । तर एमाले र माओवादी केन्द्रका गरी जम्मा ४८ सांसदमात्र हुन्छन् । केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध अन्य कुनै पनि दल बागमती प्रदेशसभामा छैनन् । त्यसैले माओवादी केन्द्र र एमालेले बहुमतका लागि आवश्यक थप ८ सांसदको समर्थन जुटाउन राप्रपा वा नेकपा एसकाे समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
बागमती प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ । राप्रपा नयाँ गठबन्धनसँग मिल्दा सहजै सरकार गठन हुन सक्छ भने काँग्रेससहितका दलहरुसँग तालमेल गरेको खण्डमा पनि सरकार गठनमा बहुमत पुग्ने देखिन्छ
बागमतीमा एमाले, माओवादी र राप्रपाको तालमेलले सरकार निर्माणकाे बाटो सहज हुन्छ तर राप्रपा प्रतिपक्षमा बस्ने मनस्थितिमा देखिन्छ । राप्रपालाई केन्द्रीय सत्ता समीकरणमा सहभागी गराइएकाे छैन । बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ सांसद छन् । यी तीन दल मिलेको खण्डमा सहजै सरकार गठन हुन सक्छ ।
यसैगरी कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको सहकार्यबाट समेत बागमतीमा सरकार गठन गर्न सक्ने बहुमत पुग्छ । याे सरकार निर्माणकाे दोस्राे विकल्प हुनसक्छ । यो विकल्पमा काँग्रेसले एकीकृत समाजवादी र राप्रपासँग सहकार्य गर्न सक्छ । सरकार गठनका लागि आवश्यक ५६ जनामध्ये काँग्रेससँग ३७ सांसद छन् । काँग्रेसलाई अन्य १९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यी तीन दल मिल्दा सरकार गठनका लागि ५७ जना सांसदको साथ हुने देखिन्छ ।
यस्तै कांग्रेस र एमालेकाे तालमेलबाट समेत सरकार निर्माणकाे बाटो बनाउन सक्नेछ । तर यो सम्भावना न्युन जस्तै छ । केन्द्रीय सत्ता समीकरणमा एमाले सहभागी छ भने काँग्रेस आउट भएकाे छ । काँग्रेस र एमालेबिच तालमेल भएको खण्डमा पनि सरकार बन्न भने सक्छ । काँग्रेस र एमाले मिल्दा बागमती प्रदेशसभामा ६४ जना सांसद पुग्छन् ।
बागमतीमा काँग्रेस र माओवादी केन्द्रको सहकार्यबाट समेत सरकार गठनकाे लागि सकस हुने देखिँदैन । सरकार गठनका लागि काँग्रेस र माओवादी केन्द्रको तालमेल पनि विकल्प हुन सक्छ । यी २ दलको सहकार्यमा सहजै बहुमत पुग्छ । काँग्रेससँग ३७ र माओवादीसँग २१ गरी जम्मा ५८ सांसदको समर्थनमा नयाँ सरकार गठन हुन सक्छ । केन्द्रमा एमालेसँग सहकार्य गरेको माओवादीले प्रदेशका लागि काँग्रेससँगै सहकार्य गर्ने सम्भावना भने कम छ ।