भरतपुर, २३ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ मा रहेको श्री अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरमा कक्षा ९ र ११का १९०जना छात्र छात्राहरुलाई किशोर किशोरीहरुका लागि लागुऔषध तथा सुर्तिजन्य पदार्थ सेवन, पोषण तथा यौन स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम र कक्षा १, २ र ३का ९० जना बालबालिकाहरुको दन्त परीक्षण एवम् ब्रश मञ्जन वितरण कार्यक्रम सम्पन्न भएकोछ ।
कार्यक्रम भरतपुर महानगर अन्तरगतको गैर सरकारी संस्था समन्वय शाखाको पहलमा आमा बच्चा स्वास्थ्य नेपालको आयोजना र मनकामना अस्पताल भरतपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो । सचेतनामूलक कार्यक्रमको सहजीकरण आमा बच्चा स्वास्थ्य नेपालका अध्यक्ष तथा मनकामना अस्पतालका नर्सिङ प्रमुख कविता खतिवडा घिमिरे, मनकामना अस्पतालका नर्सिङ अफिसर रोजल श्रेष्ठ, र पोषण विद् आस्था मिश्रले गरेका थिए । सोही अस्पतालका तीनजना दन्त परीक्षण विज्ञहरुले ९० जना बालबालिकाहरुको दाँत परीक्षण, दाँत हटाउने काम, र थप परामर्श दिएका थिए । साथै विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र विद्यार्थीका परिवारलाई एक एकवटा आइडी कार्ड समेत उपलब्ध गराइएको छ ।
उक्त आइडी कार्डको प्रयोग गरी मनकामना अस्पतालमा ओपीडी टिकट, बेड चार्ज, रगत परीक्षणमा २० प्रतिशत छुट, एक्सरे, सीटी स्क्यानमा १० प्रतिशत छुट र औषधि खरिदमा ३ प्रतिशत छुटको सुविधा लिन सक्नेछ । यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु, वडाध्यक्ष कृष्णकुमार गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, भरतपुर महानगर, गैर सरकारी संस्था समन्वय शाखा प्रमुख रश्मी पौडेल र अधिकृत पञ्चमाया तामाङको समेत उपस्थिति रहेको थियो ।