मकवानपुर, २३ फागुन ।
मकवानपुरमा फागुन २८ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।
मंगलबार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका कार्यालय प्रमुख तारा प्रसाद आचार्यले फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रदेश निर्वाचन कार्यालयले गरेको कार्यक्रममा २०८१ बैशाख २५ गते हुने उपनिर्वाचन लक्षित मतदाता नामावली अद्यावधिक कार्य गर्न लागेको आचार्यले बताए ।
उनका अनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र कसैले झुटा विवरण दिएर नाम दर्ता गरेको भए सोको विरोधमा उजुरी दिने, एक भन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा मात्रै कायम गर्ने, मृत्यु भएका तथा नेपाली नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायतका कार्य अद्यावधिक कार्यक्रममा गरिनेछ ।
कार्यक्रममा मतदाता नामावली अद्यावधिक लगायत समसामयिक विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।