भरतपुर, २२ फागुन ।
चितवनमा सोमबार र मंगलबार भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ भरतपुर महानगरपालिका वडा नम्वर ७ स्थित माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ वर्षका आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंगलबार बिहान स्कुल बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
राप्ती नगरपालिका –५ खहरेपुल नजिकै पुर्वपश्चिम महेन्द्र राजमार्गमा अङ्कुरम् एकेडेमीको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
भरतपुरबाट पिप्लेतर्फ विद्यार्थी लिन जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री राप्ती–४ का ४५ वर्षीय विष्णुभक्त श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बा.प्र.०३–००१ क ०८९२ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री श्रेष्ठको टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुल बस चालक नुवाकोट तारकेश्वर गाउँपालिकाका–४ बस्ने वर्ष २५ को ईश्वर श्रेष्ठ र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।