माडी, २२ फागुन ।
नगरस्तरीय सार्वजनिक सुनुवाईमा सहभागी रहँदै माडीका नागरिक, दल एवं सरोकारवालाहरुले नगरप्रमुख र कार्यपालिकासमक्ष विकास निर्माण एवं सेवा प्रवाहका कयौं बिषयहरुमा सुझाव एवं सवाल गरेका छन् ।
स्वदेश एफएमको सहजीकरणमा सोमबार सम्पन्न माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सहभागी रहँदै वडाका राजनैतिक दल र वडाबासीहरुले आफ्ना सवाल र सुझावहरु प्रस्तुत गरेका हुन् ।
कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले योगा, रक्तदान र ट्राफिक सचेतनामा ध्यान दिनुपर्ने, बाहिरबाट आई नगर क्षेत्रमा लगानी गरेकालाई सम्मान गर्नुपर्ने, स्वास्थ्य वीमा एवं अन्य अनुदान पाएकाहरुको नाम सार्वजनिक हुनुपर्ने, विद्यालय वरपर १०० मिटरसम्म सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्ने निणर्य कार्यान्वयन हुनुपर्ने, घरहरु निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधी सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अपलत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने सुझाव राखेका थिए ।
त्यसैगरी सहभागीहरुले बजार अनुगमन नियमित हुनुपर्ने, गोपालनगरस्थित शव जलाउने घाट पुग्ने स्थानमा पुल निर्माण हुनुपर्ने, किसानहरुलाई अनुदानको सट्टा पुरस्कारको व्यवस्था गर्नुपर्ने, राजश्व संकलन र योजना कार्यान्वयन सन्तोषजनक नरहेको, कतिपय योजनाहरुको भुक्तान पाउन बाँकी रहेको, नगर क्षेत्रमा हाटबजार सञ्चालन हुनुपर्ने, सिधुवाको पार्क निर्माण पूरा हुनुपर्ने, मगोई, परुई लगायतका पुलहरुको निर्माण पूरा गर्न दबाब दिनुपर्ने, काम नगर्ने ठेकदारहरुलाई कारवाही हुनुपर्नेलगायतका प्रश्न समेत राखेका थिए ।
यसबाहेक भरतपुर महानगरसँग कायम भएको भगिनी सम्बन्धबाट फाइदा लिन सक्नुपर्ने, नगरको पर्यटन विकासका लागि डिजिटल बोर्डहरु राखिनुपर्ने, निकुञ्जभित्र बिजुलीको भूमिगत केबुल राख्ने काम छिटोछरितो हुनुपर्ने, जनप्रतिनिधिहरुबिच आपसी समन्वय र सहकार्य हुनुपर्ने, कृषि र कृषकहरुले उचित मलबीउ पाउन नसकेको, ट्रयाक्टर सेवा महंगो भएको, सार्वजनिक बसहरुले बृद्धबृद्धाहरुलाई सेवा दिन नखोज्ने गरेको तथा नीति, विधि र सुत्रअनुसार नगर चल्नुपर्ने एवं सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरिएपनि कारवाहीको दायरामा नल्याइएको लगायतका सवाल राखेका थिए ।
सहभागी नगरबासी एवं दलीय प्रतिनिधिहरुको सवाल र सुझावहरुलाई नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सम्बोधन गरेका थिए । सहभागीहरुलाई उपमेयर महतोले स्वागत र प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।