भरतपुर, २१ फागुन ।
भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो ।
यही प्रतियोगिताबाटै उदाएका दुई खेलाडी पहिलोपटक नै चितवन जिल्ला क्रिकेट टिममा समावेश हुने महत्वपूर्ण अवसर पाएका छन् । जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई चितवनको सिनियर टिममा समावेश गरेको हो ।
प्रतियोगितामा उत्कृष्ट बलर बनेका अर्किड स्कुलका मन्दिप बराल १४ जनाको टिममा समावेश भएका हुन् । उनी प्रतियोगितामा कुल २१ विकेट लिएका थिए । यस्तै वाल्मीकि शिक्षा सदनका कप्तान आदर्श दुलाल भने ४ जना रहेको वैकल्पिक खेलाडीको सूचिमा समेटिएका छन् । जिल्ला क्रिकेट संघले १४ जना मुख्य स्क्वाइड र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । ‘हामीले चयन गरेका १८ जना खेलाडी नै महत्वपूर्ण छन्, उनीहरु सबैले प्रतियोगितामा खेल्न पाउने अवसर छ´–अध्यक्ष पियाले भने ।
चितवनको टोली हिजोदेखि सुरु भएको जितपुर सिमरा चौथो टि–२० हरपुर च्याम्पियन ट्रफी खेल्न बारा जाँदैछ । समूह बी मा रहेको चितवनको पहिलो खेल फागुन २२ गते हरपुर क्रिकेट क्लवबसँग हुँदैछ भने दोस्रो खेल २३ गते नेशनल इन्फोटेक विरगंजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा कलैया क्रिकेट क्लव, युथ क्रिकेट क्लव र मकवानपुर क्रिकेट टिम छन् ।
समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल २६ गते हुँदैछ । चितवनको टिम सेमीफाइनल प्रवेश गरेको खण्डमा अहिले छनोट गरिएका वैकल्पिकसहितका १८ जना खेलाडी नै प्रतियोगितामा खेल्न पाउने छन् । हाल मुख्य स्क्वाइडमा रहेका केही महत्वपूर्ण खेलाडी बागमती प्रदेशको खेलमा सहभागी हुन जाने तय भएपछि वैकल्पिक खेलाडीहरुले उक्त प्रतियोगितामा खेल्न पाउने संघका अध्यक्ष पियाले जानकारी दिए । त्यसैले पहिलोपटक टिममा छनोट भएका दुई खेलाडी चितवनबाट डेब्यु गर्ने प्रबल संभावना रहेको छ ।
हालैसम्पन्न प्रतियोगिताबाट एकैपटक दुई खेलाडी सिनियर टिममा स्थान बनाउनु प्रतियोगिताको उपलब्धी रहेको अध्यक्ष पिया बताउँछन् । ‘हाम्रो लागि एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता निकै महत्वपूर्ण रह्यो, हामीले यहाँबाट नयाँ प्रतिभा पाएका छौँ, यसका लागि आयोजक भरतपुर महानगरपालिका र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं´–अध्यक्ष पियाले भने ।
गत माघ २६ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता फागुन १९ गतेसम्म चलेको थियो । जसमा भरतपुर महानगरपालिका भित्रका २० टिमले भाग लिएका थिए भने १० टिम लिग खेलेका थिए ।