भरतपुर, १९ फागुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने वाचा पूरा भएको बताएकी छन् ।
विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउँदा दिने गरेको वाचा पूरा भएको प्रष्ट पारिन् । प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पूरा हुने उल्लेख गरिन् ।
‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ’, उनल भनिन्, ‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौं मात्र भन्ने गर्दथ्यौं । अब बन्ने पक्का भएको छ ।’
उनले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलोपटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताइन् । महानगरपालिकाले क्रिकेट मात्र होइन, छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो । प्रमुख दाहालले अब पुरुषको मात्र नभई महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पारिन् ।
उनले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताइन् । उनले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।