भरतपुर, १८ फागुन ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भरतपुर आइपुगेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी चितवन आएका हुन् ।
त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि शुक्रवार दिउँसो भरतपुर आउँदैछन् । दिउँसो १ बजे नारायणी नदी किनारमा उद्घाटन हुने उक्त कार्यक्रममा प्रधानमन्त्रीबाहेक पाँच पूर्व प्रधानमन्त्रीको सहभागिता हुनेछ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार नै चितवन आएका थिए भने शेरबहादुर देउवा, खिलराज रेग्मीलगायतका नेताहरू शुक्रवार बिहान भरतपुर आएका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको निम्तो मान्न नेताहरू भरतपुर आएका हुन् । कार्यक्रममा सहभागी हुन प्रहरी प्रमुख आइजीपी वसन्तबहादुर कुँवर पनि चितवन आएका छन् । त्यस्तै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको पनि कार्यक्रममा उपस्थिति हुने आयोजकले जनाएको छ ।
नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको भनाइ छ । भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो ।