मकवानपुर, १७ फागुन ।
मुख्य प्रतिपक्ष दल नेकपा एमालेलगायतका प्रतिपक्ष दलहरुसँग भएकाे सहमति कार्यान्वयनका लागि सर्वदलीय बैठकहरुबाट सहमति जुट्न नसकेपछि बिहीबारकाे प्रदेश सभाबाट विवाद समाधान गर्न विशेष समिति गठन गरिएको छ ।
बजेट विनियाेजनकाे सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन गरिएकाे बताइएकाे छ । बिहीबार बसेको संसद्को बैठकले प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको नियम १ सय ५२ बमोजिम विशेष समिति गठन गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट समानुपातिक नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । विपक्षी दलहरूको विरोध पछि गत असार १८ गते सरकारले बजेट पारित गर्न प्रतिपक्ष दलहरूसँग सहमति गरेको थियो । विपक्षी दलका सांसदहरूले दिएका योजना समावेश गर्ने गरी भएकाे सहमति कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले प्रदेश सभा अवरुद्ध गर्दै दबाब दिँदै आएका छन् ।
प्रतिपक्ष दलहरुले प्रदेश सभाकाे वर्षे अधिवेशका आधा दर्जन बैठक अवराेध गरेका थिए । वर्षे अधिवेशन सकिएकाे करिब ५ महिनापछि गत मंगलबार प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठक बसेकाे थियाे । मंगलबारकाे बैठक सञ्चालनका लागि सर्वदलीय बैठकहरु भए पनि निष्कर्ष विहिन रहे । विहीबार संसदीय समिति गठन गर्ने सहमति गरेसँगै संसद् बैठक सञ्चालन भएकाे हाे ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालको पेस गरेको विशेष समिति गठन सम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस संसदीय समितिका सचेतक गोविन्द लम्साल, नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल र राप्रपाका सांसद राजेन्द्र प्रजापतीले समर्थन गरेका थिए । समिति गठन सम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हाे ।
समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २–२ जना र हाम्रो नेपाली पार्टीबाट एक जना सांसद सदस्य रहनेछन् । नेमकिपाले भने उक्त समितिमा सहभागिता जनाएकाे छैन । समितिको संयोजकमा सत्तापक्ष नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा कांग्रेसका प्रभात तामाङ, नेकपा एकीकृत समाजवादीका रमा आले मगर, वसन्त मानन्धर, नेकपा माओवादी केन्द्रका रत्न प्रसाद ढकाल, इन्द्रप्रसाद गोतामे र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे तर्फबाट समितिको सदस्यमा मधुसूदन पौडेल, दिनेशचन्द्र देवकोटा तथा प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापा, गिरबहादुर तामाङ रहेका छन् । ११ सदस्यीय समितिको काम कारबाही निर्धारण गर्ने कार्यविधि आफैले तोके बमोजिम हुने व्यवस्था गरिएको छ । समितिले आगामी फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने गरी समयसीमा ताेकिएकाे छ ।
बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने गरी स्थगित भएकाे छ । विहीबारकाे बैठकमा हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयक स्वीकृत भएसँगै २९ गतेसम्म सभा स्थगित गरिएकाे हाे ।
बिहीबार प्रदेशसभाको दोस्रो बैठकपछि सभामुख भुवन कुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका स्थगित गरेका हुन् । आजकाे पहिलाे बैठकमा प्रतिपक्ष दलहरुसँग भएकाे सहमती कार्यान्वयनकाे लागि विशेष समिति गठन गरिएको छ । यसैगरी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट संसदमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयक पेस गरिएको थियो ।
उक्त विधेयक पेश भएसँगै पश्चात १५ मिनेटका लागि स्थगित गरिएको प्रदेशसभा बैठककाे दाेस्राे बैठक बसेको थियो । सो बैठकमा संसदमा पेस भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । विधेयकमाथि सांसद शैलेन्द्रमान बज्राचार्यले मात्र विधेयक माथिको छलफलमा भाग लिएका थिए । विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चित्रकारले दिएका दिए ।
छलफलपश्चात् मन्त्री चित्रकारले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका थिए । मन्त्री चित्रकारले पेस गरेको उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।