भरतपुर, १७ फागुन ।
भरतपुर–११, मालपोतचोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडेमीले फागुन १९ गते तेक्वान्दो ग्रेडिङ टेस्ट आयोजना गर्ने भएको छ । स्टार्स मन्टेश्वरी एकेडेमीको आयोजना तथा नेपाल तेक्वान्दो संघ, चितवनको सहकार्यमा हुन लागेको उक्त कार्यक्रम नेपाल तेक्वान्दो संघ, चितवनको सभाहल भरतपुरमा आयोजना हुनेछ ।
स्टार्स मन्टेश्वरी एकेडेमीका प्रबन्ध निर्देशक गणेश रानाका अनुसार नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा एकेडेमीको तेक्वान्दो दोजाङले तेक्वान्दो ग्रेडिङको आयोजना गर्ने भएको हो । सहभागीहरूलाई पहेंलो र पहेंलो-हरियो बेल्ट स्तरबाट हरियो र हरियो-निलो बेल्ट स्तरहरूमा अगाडि बढाउने उद्धेश्यले उक्त परीक्षण कार्यक्रम गर्न लागिएको रानाले जानकारी दिए ।
कार्यक्रम मार्सल आर्ट प्रदर्शन र परीक्षण भरतपुर कभर्ड हलमा दिउँसो १२ बजे सुरु हुनेछ । यस क्षेत्रका खेलाडी, समर्थक, तेक्वान्दो खेलप्रति उत्सुकहरु साना नानीबाबुहरुको खेल कौशलको यो रोमाञ्चक प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
तेक्वान्दो खेल आत्म-अनुशासन, शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यको लागि विश्वव्यापी रूपमै लोकप्रिय छ । नेपाल तेक्वान्दो संघको सहकार्यमा हुने ग्रेडिङ परीक्षामा मूल्याङ्कन र निष्पक्षता भने तटस्थ हुने विश्वास आयोजकले गरेको छ ।
कार्यक्रममा लगभग ६० जना विद्यार्थी सहभागी हुने स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए ।