मकवानपुर, १५ फागुन ।
वर्षे अधिवेशन सकिएको करिब ५ महिनापछि आव्हान गरिएको हिउँदे अधिवेशनको आजको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको प्रदेशसभा बैठकले पूर्व सदस्य बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार पाठकले बुधबार बिहान ११ः३० बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
पौडेलको निधन प्रति शोक मनाउँदै संसदमा एक मिनेट मौनधारण समेत गरिएको थियो । चितवनका पौडेलको गत पुस १७ गते सडक दुर्घटनामा निधन भएको थियो । ६६ वर्षका पौडेल २०७९ पुसमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।
यसैगरी मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाइएको थियो । हिउँदे अधिवेशनको पहिले बैठकमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाई र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले धारणा राखेका थिए ।