खैरहनी, १५ फागुन ।
वित्तीय सुशासन जोखिम मूल्यांकनमा खैरहनी नगरपालिका अब्बल देखिएको छ । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा चितवनको खैरहनी नगरपालिकाले देश भरमै उच्चतम अंक प्राप्त गरेको हो ।
देशभरका कार्यपालिकामध्ये खैरहनी नगरपालिकाले कुल १०० अंकमा ९९ अंक प्राप्त गरेको हो । संघीय मामिला तथा प्रशासन मन्त्रालयका अनुसार खैरहनी नगरपालिकाले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण, राजश्व व्यवस्थापन जस्ता मूल्यांकनका विषय क्षेत्रमा खैरहनीले उत्कृष्ट अंक प्राप्त गरेको हो ।
मुलभूत रुपमा पाँचवटा विषयमा केन्द्रित रही एक सय १८ सूचकका आधारमा स्थानीय तहको नतिजा सार्वजनिक गरिन्छ । यसको उद्देश्य स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउदै स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गर्ने र लेखा जोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्ने हो ।
खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाले वित्तीय सुशासनलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको बताउँदै वित्तीय सुशासनको क्षेत्रमा सबै पक्षको सार्थक पहलबाट मात्रै यो नतिजा प्राप्त भएको उल्लेख गरे । नगर उपप्रमुख कविता उप्रेतीले वित्तीय सुशासनसँगै नगरपालिकाको सर्वाङ्गीण विकासको लागि नगरपालिकाको सम्पूर्ण टिम लागि परेको बताइन् ।
खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले नागरिकप्रति जवाफदेही भएर काम गर्दाको परिणाम आएको बताए । ‘हामीले पालिकाको अडिट सँगै राजश्व व्यवस्थापन लगायतका काम संवेदनशील भएर गरेकै कारण उत्कृष्ट भित्र परेका हौँ’ उनले भने ।
चितवनका अन्य पालिकाको हकमा इच्छाकामना गाउँपालिकाले ८६.५ अंक , कालिका नगरपालिकाले ८५.५ अंक , रत्ननगर नगरपालिकाले ८३ अंक , माडी नगरपालिकाले ७७.५ अंक र भरतपुर महानगरपालिकाले ७६.५ अंक प्राप्त गरेका छन् । चितवनको अन्य पालिकाको मूल्यांकन सम्पन्न भएता पनी राप्ती नगरपालिकाको भने मूल्यांकन हुन सकेको छैन् ।
अघिल्लो वर्षसमेत खैरहनी नगरपालिका चितवनका अन्य पालीकाभन्दा उत्कृष्ट अंक ल्याउन सफल रहेको थियो ।