हेटौंडा, १३ फागुन ।
मकवानपुरकाे हेटौंडामा पहिलोपटक खुला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता सञ्चालन हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेको हेटौंडा रनलाई यस वर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा सञ्चालन हुने प्रतियोगिता फागुन १८ गते हुने आईतबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । हेटौंडाको बुद्धचौकबाट हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचौकमा आई ५ किलोमिटर लामो दौड पूरा हुने नगर खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रवीन्द्र घिमिरेले जानकारी दिए ।
दौडमा १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिक सहभागी हुन पाउने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना दुई जनालाई क्रमशः ६०, ५०, ४० र १०/१० हजार रुपियाँ पुरस्कार दिइने उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख वसन्त सिटौलाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन १८ गते विहान ६ः४५ बजेसम्म नाम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
४ लाख रुपियाँ बजेट अनुमान गरिएको प्रतियोगितामा एक सय जनाको सहभागिता रहने आयोजकले अनुमान गरेकाे छ । उपमहानगरको खेलकुद तालिका अनुसार सञ्चालन हुन लागेको प्रतियोगिताका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेट बिनियोजन गरिएको हो । यससँगै समितिले आगामी दिनमा मेयर कप फुटबल र व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा समितिका सदस्यहरु यज्ञबहादुर राय (विनोद), विजय गौतम र संगीता केसीको आतिथ्यता रहेको थियो ।