भरतपुर, १२ फागुन ।
भरतपुर भ्रमण वर्ष २०२४ को मूल समारोह समितिको बैठक सम्पन्न भएको छ । शनिबार चितवन उद्योग संघमा बसेको बैठकले भ्रमण वर्षलाई पूर्ण रूपमा सफल बनाउन जनस्तरबाटै एकाकार भएर अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ ।
भरतपुर भ्रमण वर्षलाई सम्पन्न गर्न २०२४ जनाको मूल आयोजक समिति रहेको छ भने ३० वटा उपसमितिहरु छन् । बैठकमा बोल्नु हुदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको आयोजक भरतपुर महानगर भए पनि यो सबै चितवनवासी र भरतपुरवासीको साझा कार्यक्रम रहेको उल्लेख गरिन् ।
नामकरण भरतपुर भ्रमण वर्ष भए पनि समग्र जिल्ला र छिमेकी जिल्लालाई समेटेर कार्यक्रम गर्न लागिएको प्रष्ट पारिन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।
भरतपुर महानगरका जनप्रतिनिधि, कर्मचारीहरु र विभिन्न समितिले भ्रमण वर्षको उद्घाटनका लागि विषेश तयारी गरिरहेको महानगरपालिकाले जनाएको छ । भ्रमण वर्ष यही फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यतालिका छ ।
मूल समारोह समितिको बैठकको अवसरमा संघीय सरकारका मन्त्रीहरु, अन्य विशिष्ठ व्यक्तित्वहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ । समारोह हुने स्थान नारायणी नदी किनारलाई सम्याउने, हरियाली बनाउने काम भएको छ। करिब ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भइरहेको भरतपुर महानगरका प्रमुख दाहालले जानकारी दिइन् ।
उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, राजु परियार, समीक्षा अधिकारी, एलिना चौहान, बिन्दु परियार, रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिने छन् ।
फागुन १८ गतेको समारोहअघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी, बाजागाजा, आदिवासी जनजातिहरुको भेषभुषासहितको ¥याली निकालिने छ । उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ ।
बैठकमा सहभागीहरुले भरतपुर भ्रमण वर्षले भरतपुरसँगै सिंगै चितवनको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनवासीलाई सहभागी हुन महानगरले आग्रह गरेको छ । भरतपुरले मुख्य ७ र अन्य २१ वटा गन्तव्यको पहिचान गरी प्रचारप्रसार गरिरहेको छ ।
भरतपुर भ्रमण वर्षका मुख्य पर्यटकीय गन्तव्यहरु चितवन राष्ट्रिय निकुञ्ज, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, विसहजार ताल, बाटुली पोखरी, ज्ञानेश्वर व्लक, नारायणी र राप्ती नदी, धनगढा मन्दिर, राइनो ताल, कविलासगढी हुन्। भरतपुरका सानाठूला होटलमा गरी करिब ७ हजार बेड क्षमता रहेका छन् ।