चितवन, १२ फागुन ।
पवित्र तीर्थस्थल देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ गरिने भएको छ । फागुन १८ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महा–महोत्सव गर्न लागिएको हो ।
महायज्ञ सम्पादन मूल समितिका संयोजक डा.केशवराज भुर्तेलका अनुसार देवघाट गाउँपालिका वडा नं. ५ स्थित हरिहर क्षेत्रमा स्व.पद्मादेवी भुर्तेलले बि.सं. २०४० सालमा निर्माण गरेको मन्दिरलाई पुनर्निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको हो ।
स्व.दिननाथ भुर्तेलले मन्दिरको थप निर्माण र आश्रम समेत निर्माण गरेका थिए । उक्त आश्रममा हाल १४ जना बस्दै आएका छन् । उक्त मन्दिर जीर्ण बन्दै गएपछि सोही ठाउँमा दिव्य–भव्य मन्दिर निर्माण गर्ने योजना रहेको संयोजक डा. भुर्तेलले बताए । आश्रममा रहेका बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य उपचार र आवश्यक सेवा व्यवस्थापन समेत गर्ने योजना रहेको उनको भनाई छ ।
ईश्वरकृष्ण महाराजजीको प्रमुख वाचकत्वमा हुने महायज्ञ महामहोत्सवमा रुपन्देही निवासी सुन्दर पाठक प्रमुख कर्ता छन् । उक्त महायमा सहभागी भई तन, मन र धनले सहयोग गरी पुण्यलाभ गर्नुहुन आयोजक समितिले अनुरोध गरेको छ । महायज्ञ महा–महोत्सव मन्दिर प्राङ्गणमा नै हुनेछ ।
विश्वकै अतिपवित्रतम देवघाट क्षेत्रमा हुने यस किसिमको महामहोत्सवमा सहभागी हुँदा मात्रै पनि पुण्य प्राप्त हुने विश्वास गरिएको छ ।