भरतपुर ११, फागुन ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यमिक विद्यालय, श्री राष्ट्रिय मावि तोरीखेत र श्री मावि इन्द्रपुरीपछि फागुन ११ गते भरतपुर-५ स्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
जसमा ६० जना विद्यार्थी सहभागी थिए । विद्यालय स्तरमा वित्तीय साक्षरता कार्यक्रम चितवनका सम्पूर्ण सहकारी मध्येबाट नवदुर्गा भवानीले अभियानका रूपमा थालनी गरेको पहिलो कार्यक्रम रहेको जनाएको छ । यो कार्यक्रम आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शिक्षण संस्था स्कुल स्कुलमा संचालन गरी वित्तीय साक्षरताको ज्ञान विद्यार्थीलाई स्कुले जीवन देखिनै दिँदै लैजानाले आर्थिक रूपले भविष्यमा संकट नपर्ने नवदुर्गा भवानी साकोसका सचिव रामकृष्ण पौडेलले बताए । स्कुलस्कुलमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रूपमा लैजाने संस्थाकी उपाध्यक्ष संझना शर्माले बताइन् ।
कार्यक्रमको अध्यक्षता गरेकी शर्माले कार्यक्रम बारे प्रकाश पारेकी थिईन् भने उक्त विद्यालयकी सहायक प्रधानाध्यापक रोजीना न्यौपानेले संस्थालाई स्वागत गर्दै यस्तो वित्तीय साक्षरता कार्यक्रम विद्यालय स्तरमा उपयुक्त रहेको बताइन् ।
न्यौपानेले समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम शिक्षण संस्थामा संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो विद्यालयमा पनि आयोजना गरी आफ्नो छात्रछात्रालाई निकै महत्वपूर्ण ज्ञान दिएकोमा नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था प्रति आभार प्रकट गरिन् । कार्यक्रमलाई संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरताबारे सहजीकरण गरेका थिए । उक्त वित्तीय साक्षरता कार्यक्रममा श्री भद्रकुमारी राआविका सम्पूर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरू पनि सहभागी रहेका थिए । कार्यक्रम संचालन झलकप्रसाद सिग्देलले गरेका थिए ।