गैंडाकोट, ११ फागुन ।
गैंडाकोट नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा रहेका १९ टोलभित्रका नागरिकलाई लहरे तरकारी खेती सम्बन्धी तालिम दिन लागेको छ ।
९ दिन सम्म चल्ने तालिममा नगरपालिका कृषि अधिकृत राजुप्रसाद शर्मा, कृषि अधिकृत कामना भण्डारी, कृषि प्राविधिक सुरक्षा पौडेल,
व्यवसायिक किट विकास केन्द्र गण्डकी प्रदेशकी प्राविधिक सहायक समीक्षा खनाल प्रशिक्षकका रुपमा रहेका छन् ।
आधुनिक प्रविधिको तरकारी खेतीले वडावासी जनताको जीवनस्तरमा सुधार ल्याउने आर्थिक बृद्धिदर बढाउने, तरकारीमा रोग किरा लागे किसान आफैले त्यसको व्यवस्थापन गर्ने, बीउ उत्पादन मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि सहभागीहरुको सिप, क्षमता र दक्षता कसरी बढाउने बारे सहभागीलाई तालिममा सिकाइँदै छ ।
थोरै जग्गा भएका वा कृषि पेशामा नै संलग्नका लागि महत्वपूर्ण ज्ञान सिप आर्जन वृद्धि गरी आफ्नो करेशावारीलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा पनि प्रशिक्षकले सहभागीलाई सुझाव दिएका थिए । साथै सहभागी लाइ लक्षित गर्दै लहरे बाली जस्तै हाईब्रेड लौका, करेला, बोडी, काक्रो, घिरौला र टमाटर आदिको टनेल कसरी बनाउने, यस सम्बन्धिको प्रशिक्षण, नर्सरीमा आवश्यक माटो तयारी, बिउ रोप्ने तरिका, आईलाग्ने रोग तथा संक्रमणमा आउने किरालगायतका विभिन्न उपायहरुको बारेमा तरकारी खेती सम्बन्धी जानकारी गराइँदै छ ।
लहरे तरकारी खेती सम्बन्धी तालिम दिएर आफ्नो वडाभित्र रहेका जनतालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बताए । करेशावारीमा लगाइने तरकारीमा बिषादी रहित स्वस्थ तरकारी उत्पादन गर्ने र गराउने बिषयमा जानकारी सहितको यो तालिमले वडावासीलाई निकै फाइदा पुग्ने लहरे तरकारी खेती सम्बन्धी तालिम संयोजक एवं नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले बताइन् । कार्यक्रममा जनप्रतिनिधिहरु दोर्ण बनसन्यासी, उषा परियार, तुलसी गौतमलगायतको उपस्थिति रहेको थियो ।
फागुन १४ गते सोमबार समापन हुने कार्यक्रमलाई गैंडाकोट नगरपालिका कृषि विकास शाखाको प्राविधिक सहयोग प्राप्त रहेको छ ।