काठमाडौं, ११ फागुन ।
कलाकार हरिवंश आचार्यले साहित्यविना समाज बन्दै नबन्ने भएकाले आफ्नो साहित्य–संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन् । बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन् ।
बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको दुईदिने महोत्सवमा पठन–संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन–संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको छ । पठन–संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ ।’
स्थानीय जनप्रतिनिधिबाट पठन–संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सदभाव झल्कने कार्यक्रमका लागि गरेको प्रयासको प्रशंसा गरे । हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैँ साहित्यकै नजिक रहेको बताए ।
शुक्रबार र शनिबार चल्ने दुईदिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मानसमेत गरिएको थियो । स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधि सहभागी भएका थिए ।
स्थानीय सांस्कृतिक झाँकी र गाजाबाजाबाट सुरु भएको महोत्सवमा दर्जनौँ राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ । महोत्सवमा डा. भगवान कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रूपमा सहभागी हुँदै छन् ।
बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिने महोत्सवमा ‘आहा बुढानीलकण्ठ’ र ‘बुढानीलकण्ठ महफिल’जस्ता बुढानीलकण्ठ विशेष सत्र पनि समावेश छन् । स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरू छन् । दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिरपरिसरमा आयोजना हुनेछ ।