भरतपुर, १० फागुन ।
विद्यार्थीहरूमा पढ्ने बानीको संस्कार बसाल्न सम्पूर्ण किताब नारायणगढले विभिन्न अभियान गरिरहेको छ । पुस्तक वितरण, विमर्श, समीक्षा एवम् छलफललगायतका कार्यक्रम अभियानका उदाहरण हुन् । यसैक्रममा बिहीबार भरतपुर र गैंडाकोटका दुई वटा सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढ्ने सामग्री वितरण गरिएको छ । गोरखापत्र संस्थानबाट प्रकाशित बालपत्रिका मुना मासिक र माध्यमिक तहका विद्यार्थीका लागि उपयोगी युवामञ्च मासिक वितरण गरिएको हो ।
भरतपुर निवासी सरला पौडेल र गैंडाकोट निवासी रामकृष्ण कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर छुट्टाछुट्टै कार्यक्रमबिच विद्यार्थीलाई पढ्ने सामग्री उपलब्ध गराएका हुन् । यी दुबै कार्यक्रमलाई सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
भरतपुर निवासी पौडेलले जन्मदिनको अवसर पारेर प्रेमवस्ती मावि भरतपुर-७ का विद्यार्थीलाई मुना पत्रिका उपलब्ध गराएकी हुन् । पौडेल सोही विद्यालयकी पूर्व विद्यार्थी हुन् । मुना पत्रिका विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएकोले यो विशेष अवसरमा विद्यार्थीका हातमा यो पत्रिका थमाउन मन लागेको पौडेलले बताइन् । मुना पढेर सिर्जनशील बन्न पौडेलले विद्यार्थीलाई आग्रह समेत गरिन् । २०४७ सालमा सोही विद्यालयबाट एसएलसी पास गरेकी पौडेलले आफू पढेको विद्यालयको माया सधैं लागिरहने बताइन् । `विद्यालयमा आएर शिक्षक एवम् विद्यार्थीलाई भेट्न मन लागेको थियो, यो रहर आज पूरा भएको छ´, पौडेलले भनिन् – `मलाई पढाउनु भएका केही शिक्षकहरूलाई पनि भेटेँ, खुसी लागेको छ । मलाई यहाँका पुराना दिन याद आए, रमाइलो लागेको छ ।´ पौडेलले आफूले यहाँ पढ्दा बिरुवा रोपेको, फुलबारी बनाएको स्मरण गर्दै विद्यार्थीलाई पछि पनि सम्झना हुने काम गर्न अनुरोध गरिन् । विद्यालयका निवर्तमान प्रधानाध्यापक नवराज पौडेलले आफू पढेको विद्यालय सम्झेर आएकोमा पूर्वविद्यार्थी सरलालाई धन्यवाद दिए । `आफ्नो विद्यालय सम्झिएर विद्यार्थीलाई पढ्ने सामग्री दिइ ज्ञान बाँड्ने काम गर्नुभएकोमा हामीलाई पनि खुसी लागेको छ ।´ प्रधानाध्यापक पौडेलले भने ।
त्यसैगरी लायन्स क्लब अफ बागेश्वरी डायनामिकका उपाध्यक्ष रामकृष्ण कोइरालाले जन्मदिनको अवसर पारेर विद्यार्थीलाई मुना र युवामञ्च उपलब्ध गराएका छन् । कोइरालाले श्री नारायणी माध्यमिक विद्यालय गैंडाकोट- ७ नवलपरासीमा कक्षा-४ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई बालपत्रिका मुना र युवामञ्च उपलब्ध गराएका हुन् । जन्मदिनका अवसरमा गरिने फजुल खर्चलाई ज्ञान बाँड्ने काममा प्रयोग गर्न पाउँदा आफूलाई खुसी मिलेको कोइरालाले बताए । लायन्स क्लब अफ बागेश्वरी डायनामिकका अध्यक्ष तुलसीप्रसाद सापकोटाको नेतृत्वमा क्लबको टोलीसहित विद्यालय पुगेर कोइरालाले विद्यार्थीलाई पत्रिका उपलब्ध गराएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी चापागाईंले विद्यार्थी लक्षित यी खाले सहयोगले उनीहरूलाई सिर्जनशील बन्न सहयोग पुग्ने बताए । प्रधानाध्यापक मिलन श्रेष्ठले जन्मदिनमा विद्यार्थीलाई सहयोग गर्नु महत्त्वपूर्ण काम भएको बताउँदै विद्यार्थीले यी पत्रिकाको सदुपयोग गर्ने आशा व्यक्त गरिन् । लायन्स क्लब अब बागेश्वरी डायनामिकका संस्थापक अध्यक्ष कमल तिवारीले विद्यार्थीलाई सिकाइ सहजीकरणमा यी खाले कार्यक्रमले भूमिका खेल्ने बताए ।