मकवानपुर, ८ फागुन ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैटौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे फुटबल क्लब एपीएफ फाइनल प्रवेश गरेको छ ।
प्रतियाेगिता अन्तर्गत मंगलबारकाे दोस्राे सेमिफाइनलमा त्रिभुवन क्लबलाई १-० गोलले पाखा लगाउँदै एपीएफ फाइनल प्रवेश गरेकाे हाे । बागमती गाउँपालिका फापरबारीस्थित जनता माविकाे खेल मैदानमा भएकाे खेलमा एपीएफका फोडेफोफनाले पहिलो हाफकाे चौथो मिनेटमा गोल गर्दै अग्रता बनाएकाे थियाे । एपीएफ तर्फबाट भएकाे उक्त गोल नै खेलकाे निर्णायक रह्याे ।
फाइनलमा एपीएफले मच्छिन्द्रसँग भिड्ने छ । मंगलबार भएकाे सेमिफाइनल खेलको म्यान अफ द म्याच एपीएफका बुद्धीमान राई घाेषित हुँदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।