विद्यालय र विश्वविद्यालयले छानिरहेछ आदर्श पाठ आफ्ना पाठ्यपुस्तकमा कविहरू विकृति–विसङ्गतिभन्दा केही देख्दैनन् । केही थान राजकीय सम्मान खाएका कवि लेखकको पछि देश–देनियाँ यति कुदेको छ कि ठूला सञ्चार माध्यमलाई मानौँ तिनले किनेका छन् । कोही भन्छन्, आजभोलिका कविता होइनन् नारा हुन् । कोही उसैगरी भनिरहेका छन् । राष्ट्रलाई जगाउने सामग्री । म एउटा पाठक त्यति धेरै कुरा बुझ्न म सक्दिन । कसैले देखेको लेख्छ भने त्यो मलाई अलि घतलाग्दो पठन सामग्री बन्छ । नाम सुनेका कविहरू धेरै छन्; कविता थोरै मात्र पढेको छु । सञ्चारले चर्चा गरिदिएका कवि हुन् कि विचारले बनेका कवि ! मलाई अलि चासो लाग्छ । पछिल्लो चासो कवि विवेकीको चस्माको परिधि हेर्ने अति आफूलाई लागेको केही फेर्ने ।
सबै श्रमशील मानिसहरूप्रति
जसले
जीवनवृत्तिका लागि सङ्घर्ष गरे,
सङघर्ष गर्दैछन्
र
सङ्घर्ष गरिरहने छन् ।
कवि ‘विवेकी’ले समर्पणमा लेखेका छन् । म पनि यस्तो कुरा रुचि लिएर पढ्ने अनि केही बनोस् देश भन्ने शुभचिन्तक नै हूँ । किताब पल्टाउँदै जाँदा आँखा जताततै परे, विषय बहसमा केन्द्रित भएको पाएँ अनि लेखकको विषयप्रतिको चस्माको केन्द्र पनि खोज्ने प्रयास गर्न मन लाग्यो ।
वाचाल छ
रहस्यमयी छ
त्यो मान्छे
यति ढिपी कस्छ कि
भन्दै भन्दैन
म जाल बुन्दैछु । (त्यो मान्छे, चस्मा : पृ. ३९)
मैले धेरै बुझ्ने कोसिस गरिन । नेपाली राजनीतिको नेतृत्व र कर्मचारी प्रशासनमा माथिल्ला पदहरूमा पुगेका मान्छेहरूले यत्ति त गरेको हो । देशको नाममा माग्ने अनि मजाले खाने । जनतालाई विकासको नारा दिने तरमाराहरूप्रति कवि कलात्मक हिसाबले घतलाग्दो अभिव्यक्ति दिन तयार भएका छन् । राज्य भन्ने शब्दलाई अभिभावक भन्ने विषयसँग नजोड्ने वा सम्बन्धित नगर्ने वा बिर्सने हो भने आखिर लुट्नकै लागि जानेहरूको एउटा स्वभाव बनिसक्यो माथिको कविताशं ।
कविको वर्णनात्मक शैलीभित्र पनि काव्यिक चेत ल्याउन सक्ने बलियोपनले तान्दै पुर्याउँछ ‘भरियादाइ’ कवितामा :
साहुका नजरमा भने
उनी मालवाहक भन्दा बढी
सबै हारेका भन्दा बढी
केही पनि होइनन् । (पृ. ८१)
यहाँ कुरा धेरै कविता कम भयो कि कविजी भन्न मन लाग्छ मनमनै । एउटा भरियाको जीवनदशालाई कविले परात्मक ढाँचामा प्रस्तुत गरेका छन् । श्रमिक वर्गको पीडा श्रम गर्नेले मात्र बुझ्दछ र त कविता कलामा कवि श्रम सौन्दर्यको गीत गाउँछन् । वर्गीय समाजमा हेर्ने चस्मा वर्गीय नभए त अँध्यारोमा चस्मा लाएजस्तै हुने थियो । सुविधासम्पन्न बनेका मान्छेहरूको आधार भनेका भोको पेट बस्न बाध्य मानिसहरू नै हुन् । एकअर्काको पीडा र श्रमको महत्त्व नबुझ्ने तथाकथित उच्च वर्गले मानवीय संवेदना भुल्दै गएको सङ्केत भरियादाइ कवितामा प्रष्ट रूपमा पाइन्छ ।
समाजमा दलनको पीडा वर्गमा मात्र हेरेर पुग्दैन यहाँ त छुवाछुतको रुढिवादी सोच र व्यवहारले बाँच्न पाउनु पर्ने नागरिकको ‘बाँच्ने हक’ नै खोसिएको छ । भेरीमा बगेका नवराज बि.क.हरूका जीवनलाई पनि कवि विवेकी प्रस्तुत गर्न पुग्दछन् । सञ्चारमाध्यममा आएका समाचार त कति नै होला र संसारमा छोपिएका र नछापिएका समाचारको खातमा हामी बाँचिरहेका छौँ । कवि त्यही विषय सङ्केत गर्न पुग्छन्:
इतिहासबाट ब्युँझिएर
फर्की आएको छ जंगबहादुर
र, दौडाइरहेको छ बेलगाम घोडा
दलित बस्तीमा
जहाँ बाबुसाहेबहरूको चक्रब्यूहमा परी
निस्प्राण भएका छन् नवराजसँगै
दलित सपनाहरू । (भेरीमा बगेका सपनाहरू, पृ. ८२)
हामीले यतिबेला भोगेको समस्या वर्गमा मात्र रहेन । जातिमा मात्र पनि रहेन अनि जातिभित्रको वर्गमा झन् कति सारो जकडिएर बसेको छ हाम्रो अमानवीय क्रूर चेत । मान्छे आखिर मान्छे हो । प्रेमको सच्चा उदाहरणलाई नष्ट गरेर आज दमनचक्र चलाउनेहरू प्रेमको परिभाषालाई खण्डित गरिरहेका छन् । समाजमा घटना प्रतिदिन घटिरहेछ, लाचार राज्य र हामी नागरिक दुई पैसे दाँत देखाएर जातिको नारामा मानवीय भाव भुलिरहेका छौ । मौजुदा कानुनको मात्र पालना गर्ने गराउने हो भने उहिल्यै मासिनु पर्ने दलित–गैर दलित भेद । हाम्रो मानसिकतामा जरा गाढेर बसेकाले समय आउनेबित्तिकै प्रकट भइदिन्छ । कसरी सम्पन्न होला समतामूलक समाजको नारा ? अत्यास लाग्छ । लड्न छोड्न हुन्न भन्ने भाव कविको रहेको छ । कवि विवेकीको ‘चस्मा’को परिधि निकै फैलिएको देखिन्छ । उनको विषयको केन्द्रमा भोका मान्छेको नस्कर छ । उनी समाधनार्थ नेतृत्व सम्हाल्नेहरूको नमिल्दो देखिएको दृश्यप्रति कटाक्ष गर्न पुग्दछन्:
यसबखत
छैन यिनीहरूसँग
सन्ततिका लागि कुनै योजना
आफ्नै लागि सपनाको संसार
‘एकजुट होऊ’ मार्काका
यी दिनहरूमा
सुन्नु छैन कुनै भाषण । (भोका मान्छेको लस्कर, पृ. ६७)
भोका मान्छेहरूलाई सपना बेचेर योजनाविहीन सङ्गठनका ठेकेदारहरूले आफूलाई मालिक तुल्याए । सामान्य मान्छेको जीवनस्तर उठ्न सकेको छैन । नेपालमा मात्र होइन विश्वभरिका आजको समस्या भनेको रोजीरोटीको खोजीमा भौँतारिनु र मूल्यवान् जीवनलाई मूल्यहीन ठान्नेहरूलाई दास बन्न बाध्य हुनु आजको पीडा हो । यो पीडाले मान्छेको मुल्यलाई कमजोर बनाएको छ र मानवीय संवेदनालाई जड बनाइ दिएको छ ।
यो चस्माबाट
हेर्न चाहन्थेँ म
स्कुले नानीका आँखामा चमक
सुन्न चाहन्थेँ
ज्येष्ठ नागरिकका उन्मुक्त हाँसो
बोइङ चढेर
काठका बाकस होइन
उत्साही युवा देश फर्किएको
हेर्न लालायित थिएँ । (चस्मा, पृ. १०७)
यस कवितांशको अन्तिमको क्रियापदलाई सच्चाउन मन लाग्यो कविजी, हुनुपर्छ यहाँ थिएँको सट्टामा छु । ‘छु’ आशावादीता पर्याधार बन्न सक्छ किनकि जीवन सङ्घर्षको सोच र परिवर्तनको अभीष्ट राख्ने कविहरूले निराशाको स्वर यथार्थमा नझल्काएको राम्रो होला कि ! तथापि कविको चस्माले देखेको दृश्य सत्यतथ्य हो । कवि समाजले भोगेको पछिल्ला घटनाको प्रत्यक्ष साक्षी हुन् र भोक्ता मात्र नभएर कलात्मक वक्ता पनि बनेका छन् । ‘अयोग्य’ शीर्षकको कविताले पनि त्यस्तै प्रतिप्रश्न गरेको छ । विश्वमा अल्ट्रा म्याराधनहरूमा कीर्तिमान कायम गर्ने युवाहरू क्यान्टोनमेन्टबाट ‘अयोग्य’को बिल्ला भिर्न बाध्य भएको पीडादायी यथार्थ अभिव्यक्त भएको छ । परिवर्तनको मूल संवाहक नै अपमानको शिकार भएपछि कसरी राज्यले उन्नति गरोस्, समाजले कोल्टे फेरोस् । कविताहरूमा वर्णित विषयले गहन विषयलाई साङ्केतिक ढङ्गले सम्बोधन गरेको छ ।
कविको काव्यसाधनाले वर्गीय पक्षधरता रोजेको छ । साहित्य र समाजमा वर्ग हुँदैन वा छैन भन्ने खाले प्रश्न गर्नेहरूलाई वर्गभित्र पिल्सिएर रहेको श्रमिकको जीवन गाथालाई कविले उतारेर देखाइ दिएका छन् । नेपाली समाजलाइ उपभोक्तावादी भाइरसले ग्रसित बनाउँदा आदिवासीहरूको आफ्नै मौलिक संस्कृति सङ्कटमा पर्दै जान थालेको छ । राज्यको कृपाापात्र बनाउन चाइने शासकले चेपाङलगायत जातिको स्तर उन्नतिको मौलिक आयाम खोज्नु पर्नेतर्फ समेत ध्यान दिन आग्रह गरिएको छ ।
फर्जी संसारमा
यथार्थमा कहिल्यै नदेखिए पनि
ठूलाठूला कागजी आयोजना
बन्छन् बेलाबखत
कमजोर बुद्धिले नै बनाउँछन् शब्दजाल
भरोसाका तिनै शब्दजाल पनि
पर्छन धरापमा कहिलेकाहीँ । (कागजी कला, पृ. ९४)
विश्व बजारमा एकलौटी साम्राज्य बनाउने चाइने राष्ट्र र राष्ट्रका तथाकथित शक्तिशाली शासकहरू कीर्तेकारिताका नायकहरू हुन् । उनीहरू खानी र श्रम भएको देशलाई शक्तिको गुरुत्वाकर्षणले विलिन बनाउँदै आफ्नो स्वार्थ चाटुकारहरूले समाजको तल जरासम्मै विषाक्त खाद पु¥याएको प्रति कविको तीब्र आक्रोश छ । एउटा खानेपानीको योजना सकिन चार दशक लाग्ने यो मुलुकमा कागजको पुल हालेर, अर्कालाई गाली गरेर, अनि करछलि गर्नेहरूको कालोधनमा मोजमस्ती गरेर जनताको आँखामा छारो हाल्दै माननीयको लोगो भिरेको प्रति पनि कवि सचेत बन्न अपिल गर्दछन् ।
अन्त्यमा, श्रमद्वारा सृजना हुने समाज र भ्रमद्वारा स्थापित हुने राज्यसत्ताबिच कतै सङ्गति छैन । नारा अनि नारा नै बेचेर प्रत्येकचोटि शक्तिमा पुग्नेलाई सङ्गठित हिसाबले जनता प्रतिकारमा उत्रिने दिनको पर्खाइमा रहेका छन् । सायद ‘चस्मा’ कवितासङ्ग्रहभित्रका सन्ताउन्न ओटा कविताहरूको मूल विचारबिन्दु र यसले ओगटेको परिधि जनसमस्याको समाधान हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । कविताहरू भाषिक हिसाबले सरल, विषयगत हिसाबले विविध अनि विचारका हिसाबले निम्न वर्गीय पक्षधरतामा केन्द्रित रहेको पाइन्छ ।