देवचुली, ८ फागुन ।
बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली नगरपालिका- १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा सोमबार दुवै गाउँका १०/१० परिवारलाई प्रति परिवार २ पाठीका दरले ४० वटा बाख्रा र १ वटा बोका वितरण गरेको हो ।
बालबालिकाको शिक्षालाई निरन्तरता दिनका लागि परिवारलाई आय आर्जनमा सहयोग होस् भनी २० परिवारलाई बाख्रा वितरण गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए । लोकल जातका बाख्रालाई विस्थापन गर्नका लागि उन्नत बोका समेत वितरण गरिएको शर्माले बताए । संस्थाले गत वर्ष पनि २० परिवारका लागि बाख्रा वितरण गरि सकेको र विद्यालयका विद्यार्थीहरुका लागि छात्रवृत्ति तथा सरसफाइ कार्यक्रम संचालन गरिरहेको उनले बताए ।
देवचुली नगरपालिका वडा नम्बर १६ का अध्यक्ष केशवराज गौतमको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले देवचुली नगरपालिकाको नै दुर्गम स्थानमा रहेको बाह्रकोल र बेलस्वारालाई नगरपालिकाले प्राथमिकतामा राखी कामहरु गर्न सुरु गरेको बताइन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई नगरको पहाडी भागमा सहयोग गर्न अनुरोध गरिएको बताउँदै तिवारीले जागृति बाल तथा युवा सरोकार नेपालले बाह्रकोल र बेलस्वारामा बाख्रा वितरण गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् । बाख्रापालन गर्ने कृषकहरुलाई समूह निर्माण गरी समूह मार्फत बाख्रापालन सम्बन्धि तालिम, नि:शुल्क घाँस,औषधिका लागि नगरपालिकाले सहयोग गर्ने भनाई राखिन् ।
देवचुली १६ का दुई गाउँमा दोस्रो चरणमा २० घर परिवारलाई बाख्रा वितरण गरेको संस्थालाई धन्यवाद ज्ञापन गर्दै आवश्यक सहयोगका लागि वडा कार्यालय तयार रहेको वडा अध्यक्ष केशवराज गौतमले बताए । पहाडी भेगमा भएकाले विकासबाट पछि परेको यी गाउँहरुमा संस्थाबाट निरन्तर सहयोगका लागि अध्यक्ष गौतमले आग्रह गरे ।
बाख्रा वितरण कार्यक्रममा देवचुली- १६ का वडा सदस्य रामबहादुर सौमै, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गा विष्ट, वडाचुली टोल सुधार संस्थाका प्रतिनिधिलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।