गैँडाकोट, ७ फागुन ।
तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८० को उपाधि गैँडाकोट नगरपालिका वडा नम्बर- ४ ले हात पारेको छ ।
नव जागरण रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा गैँडाकोट- ७ लाई ६ विकेटले पराजित गर्दै गैँडाकोट- ४ ले उपाधि चुम्यो ।
शुरुवाती चरणदेखि नै गैँडाकोट- ४ ले उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । सबैभन्दा बढी स्कोर बनाउनेदेखि व्यक्तिगत रन समेत सबैभन्दा धेरै बनाउनेलगायत खेलमा पूर्णरुपमा दबदबा रह्यो । विजयी भएसँगै गैँडाकोट- ४ ले ५१ हजार सहित ट्रफि र गैँडाकोट ७ ले ३१ हजार रुपैयाँ सहित ट्रफि हात पारे ।
नव जागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा भएको प्रतियोगिताको विजयी खेलाडीलाई गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पुरस्कार प्रदान गरे ।
आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले सहयोगी सबैलाई आभार व्यक्त गरे ।
प्रतियोगितामा गैँडाकोट नगरपालिका प्रबर्द्धक, सेन्ट्रल कलेज प्रायोजक र चन्द्रशेर बालुवा प्रशोधन उद्योग सहप्रायोजकका रुपमा रहेका थिए । प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएका थिए ।