गैंडाकोट, ७ फागुन ।
प्रजातन्त्र दिवसको अवसर पारी गैंडाकोटमा काव्य वाचन गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा सोमबार `काव्य वाचन अनुष्ठान´ गरिएको हो ।
`कफीको रङमा कविताको स्वाद´ मूल नारासहित पाँच जना कविले १५ वटा कविता वाचन गरे । कविहरू रामहरि शर्मा सराह, धर्मानन्द पौडेल, शान्ति शर्मा, राधा पाण्डे र एकदेव रिमालले कविता वाचन गरेका हुन् । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको कार्यालय जनक कलेज परिसरमा कार्यक्रम गरिएको हो । कविहरुले राजनीतिक बेथिति, सुशासन र प्रेममय भावका कविता सुनाएका थिए । कार्यक्रमको अध्यक्षता गैंडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले गरेका थिए ।