काठमाडौं, ७ फागुन ।
विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा आज फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।
यसपालि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन सरकारले आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।
प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ ।
फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि.सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थिए ।