मकवानपुर, ६ फागुन ।
गजलकार अनिश न्यौपाने ‘भावना’ श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले २ सय ११औं गजल यात्रामा गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरेको हो ।
साहित्यकाे गजल विधाको उन्नयन, विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो । मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ मुक्तक संग्रह पनि प्रकाशनमा छ ।
सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए । भोला शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट मनिका नेगी भइन् । बुद्ध मावि बकैया–३ हात्तिसुँडेमा कक्षा ९ कि छात्रा नेगीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियाे । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपाने तथा नेगीलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । नियमित गजल यात्राअन्तर्गत गजलकारहरु मसान उपासक, पुरुषोत्तम आचार्य, सुवास सजल, किशन पौडेललगायतले गजल वाचन गरेका थिए । मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापक शिवाकोटी, तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतकाे उपस्थिति रहेकाे थियाे ।